बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु

ठाकुरप्रसाद आचार्य
माघ ९ गते ।

 बेनीमा प्रथम म्याग्दी भलिबल कप सुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा बेनी स्थित खुल्ला मञ्चको खेलमैदानमा मंगलबार देखि अन्तर मावि छात्रछात्रा तथा शिक्षक शिक्षिका बीच भलिबल प्रतियोगिता सुरु भएको हो ।

भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगितामा छात्रतर्फ १५ र छात्रातर्फ १२ वटा विद्यालयको सहभागिता जानकारी दिनुभयो । उहाँका अनुसार शिक्षकतर्फ २० र शिक्षिकातर्फ ९ वटा विद्यालय सहभागि भएका छन् । जिल्लामा भलिबल खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगिताको छात्रछात्रातर्फ प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार २५ हजार रुपियाँ ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै शिक्षक शिक्षिकातर्फ प्रथम पुरस्कार २० हजार र द्वितीय पुरस्कार १० हजार रुपियाँ ट्रफि, मेडल प्रमाणपत्र रहेको भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।

त्यस्तै विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई ५ हजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपियाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । म्याग्दी कपको मुख्य प्रायोजकको रुपमा गौमति विकास कोष बेनी नगरपालिका ४ रहेको छ ।

विद्यालय खेलाडी उत्पादनको नर्सरी भएकोले विद्यालय स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको भलिबल संघका अध्यक्ष बानियाँले बताउनुभयो । जग बलियो भएपछि मात्रै घर बलिया हुन्छ भनेजस्तै हामीले पनि विद्यालय स्तरमा रहेका विद्यार्थीहरुमा भलिबल खेलको विकास गर्ने उद्देश्य राखेर प्रतियोगिताका आयोजना गरेका हौँ, अध्यक्ष बानियाँले भन्नुभयो । त्यस्तै शिक्षकलाई पनि भलिबल खेलतर्फ आकर्षण गर्नका लागि शिक्षक, शिक्षिकाको खेल राखिएको उहाँको भनाई थियो ।