बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी
म्याग्दी,पुस २० गते ।

    म्याग्दीको बेनीमा जिल्ला स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा बेनीको खुल्ला मञ्च स्थित खेल मैदानमा शुक्रबार देखि सुरु भएको अन्तर विद्यालय स्तरीय प्रतियोगितामा जिल्लाका ६ वटा स्थानीय तहका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिता दुईदिन सम्म संचालन हुने छ ।

विद्यालय स्तरमा खेल प्रतिभाको विकास र नयाँ खेलाडी उत्पादनका गराउने उद्देश्यले आयोजित प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो ।

प्रतियोगिता उद्घाटन गर्नुहुँदै जिसस प्रमुख थापाले विद्यालय स्तरमा खेलाडी उत्पादन र खेल प्रतिभाको पहिचानका लागि प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । खेलकुद प्रतियोगिताले बालबालिकाले आफूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने मौका पाउने उहाँको भनाई थियो । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रतियोगितामा खेलाडीहरुले अनुशासित र सभ्य भएर खेल प्रदर्शन गर्न अनुरोध गर्नुभयो ।

प्रतियोगितामा ५ गाउँपालिका र एक नगरपालिका गरी ६ वटा स्थानीय तहका करिब सातसय २० जना खेलाडीहरु सहभागी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो । प्रतियोगितामा भलिबल,एथलेटिक्स,कबड्डी र मार्सल आर्टका विभिन्न बिधामा ३६ वटा स्वर्ण पदका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने उहाँले जानकारी दिनुभयो ।

धबलागिरी,मालिका,मंगला,अन्नपूर्ण,रघुगंगा र बेनी नगरपालिका स्तरीय प्रतियोगिताबाट छनौंट भएर आएका खेलाडीहरुबीच प्रतिस्पर्धा गराइने अध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार जिल्ला स्तरीय प्रतिस्पर्धाबाट छनौंट हुने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा सहभागि हुने अवसर पाउँनेछन् ।

प्रतियोगितामा प्रथम हुने पालिकाले रनिङ शिल्ड, ट्रफी,मेडल र प्रमाणपत्र सहित २० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । उपबिजेता र तृतीय हुनेले ट्रफी,मेडल र प्रमाणपत्र सहित नगद १५ हजार र १० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

धबलागिरी र रघुगंगा बाहेकका पालिकाले कबड्डीमा प्रतिस्पर्धा गर्नेछन् । यसपाली अन्नपूर्ण,रघुगंगा र बेनी नगरपालिकाका खेलाडीले उसुमा पनि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगितालाई व्यवस्थित रुपमा संचालन गर्न समितिका पदाधिकारी,सदस्य,कर्मचारी र प्रशिक्षकलाई जिम्मेवारी बाँडफाड गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केसीले जानकारी दिनुभयो । उद्घाटनका अवसरमा खेलाडीहरुले खुल्ला मञ्च स्थित खेलमैदानमा पोसाक सहित मार्च पास गरेका थिए ।