मंगलाको चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मंगला माविलाई

विकल्प न्यूज/बेनी
पुस १८ गते ।


म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा चौथो विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा लगातार ३ पटक कप जितेर मंगला मावि बावियाचौरले शिल्ड पच गरेको छ । मंगला–५ पिपलबोटको खेलकुद मैदानमा सम्पन्न भएको प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र २ कास्य सहित २१ पदक जित्दै मंगला माविले उपाधि हात पारेको हो । ६ स्वर्ण,१२ रजत र ५ कास्य सहित २३ पदक जित्दै महेन्द्ररत्न मावि बरंजा द्धितीय भएको छ ।

३ स्वर्ण,८ रजत १० कास्य सहित २१ पदक जितेर दिपशिखा मावि कुहुँ तृतीय भएको गाउँपालिकाका रोजगार सहायक ज्ञानेन्द्र आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगितामा शारदा मावि २ स्वर्ण,१ रजत ३ कास्य, शिशु कल्याण मावि २ स्वर्ण, २ कास्य, जनजागृति मावि पूर्णगाउँ १ स्वर्ण,२ रजत, २ काँस्य पदक, भित्रुवन मंगला मावि १ स्वर्ण, १ रजत र १ काँस्य, डनिङ बोर्डिङ २ रजत, ४ काँस्य पदक र किसानी आधारभुत विद्यालयले १ काँस्य पदक जितेको छ । बिजेता विद्यालय र खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, गाउँपालिका अध्यक्ष सतप्रसाद रोका लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा भलिबलतर्फ उत्कृष्ट छात्रमा मंगला माविका प्रकाश नेपाली, छात्रातर्फ शिशुकल्याण माविकी बुद्धिमायाँ बुढाथोकी, कबड्ीतर्फ मंगला माविका छात्रछात्रामा किस्मत विक र सरिता बुढा, एथलेटिक्समा मंगला माविकै मिलन थापा र रिकजना बोटे उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । समापन कार्यक्रमको अध्यक्षता अध्यक्ष रोका, स्वागत मन्तब्य वडा नं १ अध्यक्ष एकजित रोका, धन्यबाद मन्तब्य उपाध्यक्ष प्रेमकुमारी खत्री, वडा नं २ वडा अध्यक्ष धनबहादुर खाती क्षत्री र सञ्चालन सूचना अधिकारी राजेन्द्र आचार्यले गर्नुभएको थियो । प्रतियोगितामा पालिकाका १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।