कालीगण्डकी नदीको बगर सम्याएर पोखरेबगरमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी
पुस १० गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले आठ लाख पचास हजार खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिए ।

‘पोखरेबगरवासीको भेलाको निर्णय अनुसार कालीगण्डकी किनारको उपभोगविहीन सार्वजनिक जमिनमा करिब २० दिनमा खेलमैदान तयार पारेका छौँ,’ उनले भने, ‘योसँगै खेलकुद प्रतियोगिता सञ्चालन गर्न र खेलाडीलाई अभ्यास गर्न सहज भएको छ।’

एक सय १२ मिटर लम्बाइ र ४० मिटर चौडाइ भएको खेलमैदानमा सेभेन ‘ए’ साइड फुटबल, भलिबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार डोजर लगाएर सम्याइएको खेलमैदानको सतहमा माटो राखिएको छ भने स्टेजका लागि पर्खाल निर्माण गरिएको छ ।

उक्त खेलमैदानमा पुस ७ गतेदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार सकिएको छ । खेलमैदान नहुँदा यसअघि पोखरेबगर आधारभूत विद्यालय परिसरमा खेलकुद प्रतियोगिता तथा अभ्यास हुने गरेको थियो । खेलकुद गतिविधिका कारण विद्यालयको पठनपाठनमा असर पुगेको थियो ।

पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र हो । तीव्र रुपमा बस्ती विस्तार भएको पोखरेबगरको अन्य ठाउँमा सार्वजनिक जग्गा नहुँदा खेलमैदान निर्माण हुनसकेको थिएन् । खेलमैदान निर्माण भएको बगरको कालीगण्डकी किनारमा यसअघि ग्याबिन पर्खाल बनाएर तटबन्ध गरिएको थियो । खेलमैदानको छेउमा निर्माणाधीन सार्वजनिक शौचालयलाई पनि पूर्णता दिइएको अध्यक्ष खड्काले बताए ।

खेलमैदान बनेपछि सार्वजनिक जग्गाको संरक्षण भएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लबको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर छोटो समयमा खेलमैदान तयार गरेर उदाहरणीय काम गरेको बताए । खेलमैदानलाई थप व्यवस्थित गर्दै पूर्वाधार विस्तार गर्न गाउँपालिकाले सघाउने उनको भनाइ थियो । रासस
तस्विर ठाकुरप्रसाद आचार्य