अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविले जित्यो

ठाकुरप्रसाद आचार्य
म्याग्दी,पुस ९ गते ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर मावि स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रभा माध्यामिक विद्यालय नारच्याङले जितेको छ ।

सोमबार साँझ गाउँपालिका केन्द्र पोखरेबगरमा सम्पन्न प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ६ कास्य सहित २१ पदक जित्दै प्रभा माविले उपाधि हात पारेको हो । प्रभा मावि गत वर्षको बिजेता हो ।

प्रतियोगितामा ८ स्वर्ण,४ रजत र २ कास्य सहित १४ पदक जित्दै मुक्ति मार्ग मावि घार द्धितीय भएको छ । ६ स्वर्ण,११ रजत ४ कास्य सहित २१ पदक जितेर शिख मावि शिख तृतीय भएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

बिजेता विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष भारत कुमार पुन,उपाध्यक्ष दिवा कुमारी तिलिजा, स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामी,प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कबड्डी, भलिबल र एथलेटिक्स विद्यातर्फ छात्र र छात्राहरुको १५\१५ इभेन्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा बिजेता विद्यालयलाई ५० हजार रुपियाँको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । यसैगरी दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः ३० हजार र २० हजार रुपियाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।

भलिबल,कबड्डी र एथलेटिक्सका तर्फ प्रथम हुने विद्यालयलाई जनही पाँच÷पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । पालिका भित्रका ११ विद्यालयका तीनसय १५ जना विद्यार्थी खेलाडीहरुले भाग लिएका थिए । प्रत्येक खेलका बिजेता खेलाडीलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगिताले विद्यालय स्तरमा खेलकुद प्रतिभाको पहिचानका साथै खेल क्षमताको विकासमा टेवा पुगेको पालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।