‘मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनुपर्छ’

विकल्प न्यूज \बेनी
पुस १ गते ।

  म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार न्यायिक समिति तथा मेलमिलाप कर्ताहरुलाई न्यायिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा सहभागिहरुले स्थानीय तह अन्तरगतका मेलमिलाप केन्द्र र न्यायिक समितिप्रति विश्वास बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

मेलमिलाप केन्द्र र न्यायिक समितिमा आउने मुद्दाको प्रकृति, त्यसको व्यवस्थापन, विवाद निरुपणबाट भएको सकारात्मक पक्ष र चुनौतिका विषयमा छलफल भएको थियो । जिल्ला अदालत म्याग्दीका न्यायाधिश कृष्णप्रसाद नेपालले मेलमिलापकर्ता र न्यायिक समितिप्रति विश्वास दिलाउन आवश्यक रहेको बताउनुभयो ।

“न्याय माग्न नागरिक नआउनु भनेको समाजमा सबैले न्याय पाएको र कोही अन्यायमा नरहेको भनेर बुझ्नु भएन,” उहाँले भन्नुभयो “साँच्चिकै समाजमा न्याय भइरहेको छ भने त त्यो ठिक छ तर थिचो, मिचो र हिंसा सहेर बसेका हुन भने त्यसलाई दुःखको विषय मान्नुपर्छ ।”
न्यायालयमा जाँदा न्याय पाइन्छ भन्ने विश्वास दिलाउनु सबैको दायित्व हुने न्यायाधिस नेपालले बताउनुभयो । न्यायकर्मी कानुनको दास भएर काम गर्नुपर्ने बताउदै न्याय सम्पादन गर्नेले आफ्नो र पराई नभनी न्यायालयको गरिमा र विश्वासलाई बचाउने गरि काम गर्नुपर्ने न्यायाधिश नेपालले बताउनुभयो ।

उहाँले जथाभावी सिफरिस नगर्न आग्रह गर्दै, फैसला कार्यान्वयन, म्याद तामेली जस्ता कार्यमा जनप्रतिनिधिहरबाट सहयोगको अपेक्षा गर्नुभयो । जिल्ला सरकारी वकिल कार्यालयका न्याधिवक्ता खेमराज पाठकले न्यायिक समिति, अदालत र अर्धन्यायिक समितिले आफ्नो क्षेत्राधिकारमा रहेर काम गर्नुपर्ने बताउनुभयो ।

न्यायिक समिति र मेलमिलाप केन्द्रसँग सम्बन्धित मुद्दामा अदालत जानुपर्ने अवस्था आउन नदिन आग्रह गर्नुभयो । धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले वडामा रहेका मेलमिलाप कर्ताहरुलाई सक्रीय बन्न र सूचिकृत हुन आग्रह गर्नुभयो ।

मेलमिलाप केन्द्रलाई थप प्रभावकारी बनाइने उपाध्यक्ष पुनले बताउनुभयो । गत आर्थिक वर्षको जिम्मेवारी सरेर आएका ४ वटा सहित चालु आर्थिक वर्षको पाँच महिनामा ८ वटा मुद्दा दर्ता भएकोमा दुई वटा मेलमिलाप र दुई वटा निर्णय मार्फत फस्यौट गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागि वडा अध्यक्षहरुले मेलमिलाप केन्द्रमा आउने मुद्दाका प्रकृति, त्यसको व्यवस्थापन र चुनौतिका विषयमा जानकारी गराउनुभएको थियो । गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक ख्यामराज सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, जिल्ला अदालतका श्रेष्तेदार, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।