धवलागिरी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

मुना, ३० मङसिर ।

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेर चालु आर्थिक वर्ष २०८०\०८१ को पहिलो चौमासिकमा गरेका गतिबिधि सार्वजनिकरणका साथै अन्तरक्रिया गरेको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

स्थानीयबासीहरुले सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, जिज्ञाशा गर्नुका साथै सुझाव दिएका थिए । गाउँपालिकाका पदाधीकारी र विषयगत शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो ।

ADV

कुल रु. ४३ करोड ८९ लाख ५४ हजार बजेट बिनियोजन भएकोमा मंसिर मसान्तसम्म कुल रु. चार करोड ३१ लाख ४७ हजार ७२३.१२ खर्च भएको जानकारी गराइएको थियो । पूर्वाधार सम्बन्धी ८७ वटा योजना मध्य ५ वटा ठेक्का प्रक्रीयामा रहेको र ७७ वटा योजना सम्झौता हुँन बाँकी रहेको छ ।

 

गौरवको आयोजनाको रुपमा लुलाङ–गुर्जा सडकको ठेक्का आव्हान भएको, प्रशासकीय भवन र ताकम अस्पतालको भवन निर्माणाधिन अवस्थामा रहेको, वडा नं. २ र ७ का कार्यालय भवन सञ्चालन भएको, ६ नम्बर वडाको भवन निर्माणाधिन रहेको छ । न्यायिक समितिमा ८ वटा मुद्दा दर्ता भएकोमा २ वटा मेलमिलाप, २ वटा फस्यौट र ४ वटा प्रक्रीयामा रहेको छ । लम्पि स्किन रोगबाट बिरामी परेका पशुको गोठमै पुगेर खोप लगाउने र उपचार गरिएको, पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनको तयारी गरेको जानकारी गराइएको थियो ।

लुलाङमा एक घर एक धारा खानेपानी आयोजना सम्पन्न भएको, लमसुङ, खाम्ला र मराङमा निर्माणाधिन रहेको, हाडेभिर, खारा र खोलखर्कमा झोलुङ्गे पुल निर्माणाधिन रहेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा फलियागाउँका तिर्थराज भण्डारीले पर्याप्त बजेट नहुँदा प्रशासकीय भवन निर्माण प्रभावित भएको बताउनुभयो । ताकमका प्रगति कार्कीले पाँच शैया क्षमताको अस्पताल भवन निर्माण दुई वर्षदेखि रोकिएको, आन्तरिक आम्दानी र पुजिगत खर्चको अवस्था निराशाजनक भएको टिप्पणी गर्नुभयो ।

धारापानीका यामन रोकाले मुना जोड्ने सडक अन्तरगत गौथलीको भिरको सडकलाई सहज बनाउन र खेलकुद क्षेत्रमा लगानी बढाउन सुझाव दिनुभयो । ताकमका खिमबहादुर हर्मेलले सार्वजनिक जग्गाको अतिक्रमण नियन्त्रणका लागि जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभयो ।
शिक्षक होसीयार सिंह विश्वकर्माले शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्न, वडा कार्यालयहरुमा नागरिक वडापत्रको व्यवस्था गर्न सुझाव दिनुभयो । कार्यक्रममा सहभागिहरुले व्यवसाय दर्ता दुई तीन वटा निकायमा गर्न झञ्जट र दोहोरो करको मारमा परेको गुनासो गरेका थिए । यसैगरी कृषि क्षेत्रमा बजेट न्युन भएको र कृषि उपजको बजारीकरणको व्यवस्था मिलाउन माग गरेका थिए ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ताकमको अस्पताल भवनका ठेकेदारलाई काममा फर्काउन सहजिकरण गरेको र प्रशासकीय भवनका लागि बजेट व्यवस्थापन गर्न संघीय सरकारसँग समन्वय गरिरहेको बताउनुभयो ।

उहाँले प्रमुख प्रशासकीय अधिकृत नुहँदा करिब दुई महिना गाउँपालिकाको कामकाज प्रभावित भएको बताउदै नयाँ प्रशासकीय अधिकृत आएपछि तिब्रताका साथ योजना कार्यान्वयन हुने बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले योजना कार्यान्वयनलाई तिब्रताका साथ लैजाने र लक्ष्य अनुसार आन्तरिक आम्दानीको स्रोत जुटाउन पहल गरिएको जानकारी गराउदै विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन समुदायको साथको अपेक्षा गर्नुभयो । एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन पहल गरेको उहाँको भनाई थियो ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुवेदीले सबै वडा कार्यालयमा नागरिक वडा पत्रको व्यवस्था गरिने र सर्वसाधारणको गुनासो, सुझाव र अपेक्षा संकलन गर्न फरक फरक वडामा सार्वजनिक सुनुवाई गरिने बताउनुभयो ।

राजस्व स्रोत अनुमान समितिका संयोजक झकबहादुर छन्त्यालले समितिको सिफारिस र गाउँसभाको निर्णय अनुसार विभिन्न सेवाको दस्तुर संकलन गरिएको बताउनुभयो । शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले यस वर्ष स्थानीय पुस्तक छपाई गरिने र शिक्षकहरुको क्षमता विकासका कार्यक्रममा जोड दिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षता, कार्यपालिकाका प्रवत्ता तथा वडा न. ३ का वडा अध्यक्ष देवेन्द्र रोकाको स्वागत र शिक्षा शाखाका प्रमुख सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष गौतम र राकेश शर्माले गर्नुभएको थियो ।