न्यू वेष्ट प्वाईन्टले जित्यो जेसीज कपको उपाधि

ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर २४ गते ।

म्याग्दी जेसीजद्धारा आयोजित अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाईन्ट आवशीय मावि बेनीले हात पारेको छ । आइतबार सम्पन्न भएको २१ औं जेसीज कप फुटबल प्रतियोगिताको फाइनल खेलमा बेनीकै माउन्ट आवशीय माविलाई पराजित गर्दै वेष्ट प्वाइन्टले उपाधि जित्न सफल भएको हो ।

फाइनल खेलको निर्धारित समय भित्र दुवै विद्यालयले गोल गर्न नसकेर बराबर भएपछि  माउन्ट एभरेष्ट आवशीय माविलाई पेनाल्टी सुटआउटमा ६ का विरुद्ध ७ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधि जितेको हो । वेष्ट प्वाईन्टले यस अघि पाँचौंपटक जेसीज कपको उपाधि जितेको थियो । प्रतियोगितामा बिजेता न्यू वेष्ट प्वाईन्टले जेसीजकपको रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२५ रुपियाँ जितेको छ ।

त्यस्तै उपबिजेता बनेको माउन्ट एभरेष्ट आवशीय माविले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा ३२ हजार २३२ रुपियाँ पुरस्कार हात पारेको छ । विजेता र उपविजेता विद्यालयलाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा(खम्बिर) गण्डकी प्रदेश सभाका सदस्य हरिबहादुर भण्डारी,म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँ लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमशः नगद दुईहजार पाँचसयका दरले पुरस्कृत गरिएको छ । त्यस्तै अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

अन्तर मावि स्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा फुटबल खेलको प्रतिभालाई उजागर गर्न टेवा पुगेको प्रतिनिधिसभा सदस्य गर्बुजाले बताउनुभयो । १९ गते देखि २४ गते सम्म संचालन भएको प्रतियोगितामा २३ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितालाई राम–विमला फाउन्डेसन  मुख्य प्रयोजक बनेर एकलाख रुपियाँ आर्थिक सहयोग गरेको थियो ।