माउण्ट एभरेष्ट र न्यू वेष्ट पोइन्ट आवासीय मावि जेसीज कपको फाइनलमा

विकल्प न्यूज\बेनी
मंसिर २३ गते ।

म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि र माउण्ट एभरेष्ट आवासीय मावि प्रवेश गरेका छन् । शनिबार सम्पन्न भएको खेलमा न्यू वेष्ट पोइन्टले बेनी सामुदायिक माविलाई ०-२ गोल र माउण्ट एभरेष्टले हेम मावि सिवाङलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै फाइनलको यात्रा तय गरेका हुन् ।

न्यू वेष्ट प्वाइन्टका खेल सुरु भएको २० मिनेटमा सुनिल थापाले गोल प्रहार गदै अग्रता लिएका थिए । त्यस्तै दोस्रो हाफको ४८ औं मिनेटमा प्रवेश घर्तीले अर्को गोल गदैं अग्रता लिएका थिए । बेनी सामुदायिकको डिफेन्स कडा हुँदाहुँदै पनि मिसपासका कारण पाएका राम्रा अवसरलाई समेत गुमाउनु परेको थियो। खेलमा पहिलो हाफमा १ गोलको दवावमा परेको बेनी सामुदायिक दोस्रो हाफमा समेत अर्को गोलको सामाना गरेपनि चर्को दवावमा परेको थियो ।

यता माउण्ट एभरेष्टसँग निकै प्रतिस्पर्धात्मा खेल खेलेको हेम मावि सिवाङले पेनाल्टीमा लय गुमाउँदा सेमिफाइनलबाटै बाहिरिएको छ । निर्धारित समय अवधिमा माउण्ट एभरेष्टलाई चर्को दवावमा राखेका हेम माविका खेलाडीले पेनाल्टीमा कमजोर प्रर्दशन गरेका थिए ।

प्रतियोगितामा उपाधीको दाबेदार मानिएका बेनी सामुदायिक र हेम माविलाई पन्छाउँदै फाइनलमा प्रवेश गरेका दुबै टिमको खेल आइतबार ११ बजे हुने म्याग्दी जेसीजका महासचिव कुमार बानियाँले बताए । न्यु वेष्ट प्वाइन्टका कप्तान समन थापा र माउण्ट एभरेष्टका कप्तान सनम विकले जारी प्रतियोगितामा उत्कृष्ट खेल देखाइरहेका छन् । समन सर्वाधिक गोलकर्तामा अग्रस्थानमा छन भने सनमले पच्छाइरहेका छन् ।

दुबै विद्यालयका कप्तानले आफ्नो टिमलाई समाल्दै खेलेकाले फाइनल निकै रोचक हुने निश्चित छ । न्यु वेष्ट प्वाइन्ट र माउण्ट एभरेष्टले दुबै टिमको कमजोरीलाई केलाउँदै नतिजा आफ्नो पोल्टामा पर्ने तयारीमा छन् । निकै प्रतिस्पर्धात्मक मानिएको खेलमा घरेलु मैदान, नियमित अभ्यास र चर्को हुटिङका बिच आइतबारको फाइनल खेलमा खुल्लामञ्च खचाखच भरिने छ ।

बुधबारदेखि सदरमुकाम बेनीको खुल्लामञ्चमा जारी प्रतियोगितामा २३ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।