ताकममा वडा कार्यालय भवन निर्माण

विकल्प न्यूज/बेनी
मंसिर २२ गते ।


जिल्लाको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालय भवन निर्माण भएको छ । कार्यालय भवन निर्माण भएसँगै वडाबाट प्रवाह हुने सेवा आफ्नै भवनबाट सुरु गरिएको छ ।

यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै आएको वडा कार्यालयले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो ।
नवनिर्मित भवनको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गरी वडा कार्यालयको नयाँ भवनबाट सेवा शुभारम्भ गरिएको वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो ।

“यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलमा कार्यालय सञ्चालन गरेका थियौ,” उहाँले भन्नुभयो “वडाको आफ्नै भवन भएपछि सेवा प्रवाह सहज हुनेछ् ।” वि।स। २०७७ पुुषमा भवन निर्माण शुरु भएको थियो ।
सामुुदायिक भवन अघि आरसीयुपी परियोजनाले बनाएको भेटेरीनरीको भवनबाट वडा कार्यालय सञ्चालन भएको थियो । दुई चरणमा करिब रु ६१ लाखको लागतमा भवन निर्माण सकिएको गाउँपालिकाले जनाएको छ । वि।स। २०७७ मा रु। ४७ लाखमा ठेक्का सम्झौता गरेको डोल्पो कन्ट्रक्सनले भवनको संरचना तयार पारेको थियो ।

पहिलो चरणमा भवन निर्माणका लागि जिल्ला समन्वय समितिले रु। तीस लाख सहयोग गरेको थियो । दोस्रो चरणमा २०७८ मा जयमा लक्ष्मी कन्ट्रक्सनसँग रु। १५ लाखमा भएको ठेक्का सम्झौता मार्फत पलास्टर, रंगरोगन, बिद्युुत, पानी जडान लगायतको काम भएको थियो ।

फर्निचर व्यवस्थापन गरेर नयाँ भवनमा कार्यालय स्थानान्तरण गरिएको वडा सचिव तमबहादुर बिकले बताउनुभयो । चार वटा कोठा रहेको भवनमा वडा अध्यक्ष लगायत जनप्रतिनिधि, वडा सचिव, सभाहल र बैठक कक्ष छन् ।

वडा कार्यालय भवन बनाउन टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा उपलब्ध गराउनुभएको थियो । यसअघि साविक ताकम गाविस कार्यालयको भवन रहेको ठाउँमा थप जग्गा व्यवस्थापन गरेर वडा कार्यालयको नयाँ भवन बनाइएको हो ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत कृष्ण सुवेदी, पुुर्व वडा अध्यक्ष कलानिधी शर्मा, अन्य वडाका अध्यक्ष लगायत जनप्रतिनिधिहरुको उपस्थिति थियो ।

गाउँपालिकाका अध्यक्ष पुनले सेवा प्रवाहलाई सहज बनाउन प्रशासकीय सहित वडा र स्वास्थ्य संस्थाको भवन निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । ताकम, मल्कवाङ र लुलाङमा वडा कार्यालय, गुर्जा र मुनामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।

ताकममा अलपत्र रहेको पाँच शैया क्षमताको अस्पताल भवन निर्माणलाई पूूर्णता दिन व्यवसायिलाई ताकेता गरिएको बताउनुभयो । घट्टेखोलामा गाउँपालिकाको प्रशासकीय, मराङमा वडा कार्यालय र मुदीमा स्वास्थ्य चौकीको भवन निर्माणाधिन रहेको उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।