बेनीमा जेसीजकप फुटबल प्रतियोगिताको २१ औं संस्करण उद्घाटन

ठाकुरप्रसाद आचार्य
म्याग्दी,मङ्सिर १९ गते ।

म्याग्दीको बेनीमा अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको २१ औं संस्करण सुरु भएको छ । प्रतियोगिताको मंगलबार गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले उद्घाटन गर्नुभयो ।

चार दिन सम्म संचालन हुने प्रतियोगितामा २२ वटा विद्यालयले सहभागिता जनाएका छन् । म्याग्दी जेसीजले हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितालाई यस वर्ष राम–बिमला फाइन्डेशनले मुख्य प्रायोजकको रुपमा आर्थिक सहयोग गरेको छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रदश सभा सदस्य गौचनले विद्यालय स्तरमा फुटबल खेलको विकासका लागि प्रतियोगिताले टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीहरुमा खेल प्रतिभाको प्रस्फुटन र क्षमता विकास गर्न जेसीज कप फुटबल प्रतियोगिता उपयोग हुने उहाँको भनाई थियो ।

यसैगरी बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जेसीज कप फुटबल प्रतियोगिताले राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याएको बताउनुभयो । खेल क्षेत्रको पूर्वाधार निर्माणमा संघ र प्रदेश सरकारले साथ नदिँदा निर्माणधिन बेनीको रंगशालाले पुर्णता पाउन नसकेको विचार व्यक्त गर्नुभयो ।

बेनी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जेसीज कप फुटबल प्रतियोगिताले जिल्लामा फुटबल खेलको विकासमा सहयोग पुगेको बताउनुभयो ।

विद्यालयस्तरबाटै फुटबलका प्रतिभा उत्पादन गर्ने उद्देश्यले चन्दा सहयोग जुटाएर जेसीजले प्रतियोगिता आयोजना गर्दै आएको म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले बताउनुभयो । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ रुपियाँ पुरस्कार प्रदान गरिने मुल संयोजक विनाद घर्ती क्षत्रीले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमशः नगद २५ सय पुरस्कारले पुरस्कृत गरिने मुल संयोजक क्षत्रीले बताउनुभयो । त्यस्तै अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा कुल ७ लाख ५० हजारभन्दा बढी खर्चको अनुमान गरिएको छ । खेलहरु बुधबारदेखि बेनीको खुल्ला मञ्चमा संचालन हुने जेसीजले जनाएको छ ।

प्रतियोगिताको अवसरमा जेसीजले संचालन गरेको निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको संचालन जेसीज महासचिव दिनेश बानियाँले गर्नुभएको थियो ।