जेसीज कप फुटबल प्रतियोगिताको २१ औं संस्करणको तयारी

विकल्प न्यूज/बेनी
मंसिर ४ गते ।


म्याग्दी जेसीजको मूल आयोजनामा २१ औं जिल्ला स्तरीय अन्तर मावि जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर १९ गतेदेखि २३ गतेसम्म बेनीमा हुने भएको छ ।

सोमबार जेसीजको कार्यालयमा भएको पत्रकार सम्मेलनमा सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा राम–बिमला फाउण्डेसन जिल्लास्तरीय अन्तर मावि जेसीजकप फुटबल प्रतियोगिता गरिने भएको हो । पत्रकार सम्मेलनमा म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले प्रायोजक सहित पुरस्कार ब्यवस्थापन, खुल्लामञ्चको खेलमैदान मर्मत, विद्यालयलाई पत्राचार लगायत प्रतियोगिताका लागि आवश्यक पर्ने तयारी तिब्र पारिएको बताए । उनले प्रतियोगिताका लागि विनोद घर्ती क्षत्रीको मुल संयोजकत्वमा विभिन्न १९ उपसमिति गठन गरिएको बताए ।

‘विद्यालयस्तरबाटै फुटबलका प्रतिभा उत्पादन गर्ने प्रतियोगिता हो,‘सबै क्षेत्रबाट सहयोगको अपेक्षा सहित प्रतियोगिताको तयारीमा जुटेका छौ’ शाखा अध्यक्ष बानियाँले भने । प्रतियोगितामा बिजेता विद्यालयलाई जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २२२ पुरस्कार प्रदान गरिने मुल संयोजक विनाद घर्ती क्षत्रीले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई र अनुशासित टिमलाई अवार्डसहित क्रमश नगद २५ सय पुरुस्कारले पुरस्कृत गरिने मुल संयोजक क्षत्रीले बताए । त्यस्तै अनुशासित टिम र सेमिफाइनलबाट बाहिरिएका टिमलाई ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । जेसीजकप फुटवल म्याग्दीमा विद्यालय तहमा हुने जिल्ला स्तरीय चर्चित फुटवल प्रतियोगितामा ३० विद्यालयको सहभागिता हुने अनुमान गरिएको छ । प्रतियोगितामा कुल ७ लाख ५० हजारभन्दा बढी खर्चको अनुमान गरिएको छ ।

यसैबीच प्रतियोगिताको टाइटल स्पोन्सर स्वर्गीय समाजसेवी राम गौचनको स्मृतिमा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले स्थापना गरेको कोषलाई समेत म्याग्दी जेसीजले धन्यवाद दिएको थियो । अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।