पाँचौ सिंगा कप खेलकुद प्रतियोगिता सुरु

विकल्प न्यूज/बेनी
१९ कात्तिक ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले विकास योजनालाई परिमाणमुखी बनाउन योजना छनौट र प्राथमिकिरणमा सुधार गर्न पहल थालिएको बताउनुभएको छ ।

बेनी नगरपालिका–४ मा जनचेतना युवा क्लवले आयोजना गरेको पाँचौ सिंगा कप खेलकुद प्रतियोगिताको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले योजना छनोट, सिफारिस र बजेट व्यवस्थापनको परम्परागत शैलीमा सुधार गर्न पहल थालेको बताउनुभयो ।

“सबैको चित्त बुझाउनलाई टुक्रे योजनामा बजेट छर्दा परिमाण नदेखिने समस्याको सुधारका लागि सबैले अपनत्व महशुस गर्ने गरि योजना छनौट र साझा प्राथमिकता बनाउनुपर्छ,” मन्त्री जुग्जालीले भन्नुभयो “टोल, वडा, पालिका र जिल्ला स्तरमा योजनाको प्राथमिकता निर्धारण गर्न सके जसलिने होडबाजी हट्छ । परिमाण देखिन्छ् ।”

म्याग्दी जिल्लाका योजनाहरुको प्राथमिकिकरण गर्न स्थानीय तह र जिल्ला स्तरका नेता तथा सरोकारवालासँग छलफल थालिएको मन्त्री जुग्जालीले बताउनुभयो । टुक्रे योजनामा छरिने बजेट प्राथमिकताप्राप्त योजनामा केन्द्रित गर्दा छिटो काम हुने र परिमाण देखिने उहाँको भनाई छ ।

सिंगा आगेबर जोड्ने म्याग्दी नदीमाथि पुल संघीय सरकारबाट पुल बनाउन पहल गरिएको, बेनी–सुर्केमेला–थामडाडा सडक यसै वर्ष मर्मत गरिने र डाडाखेत जोड्ने सडकलाई आगामी वर्षको योजनामा समेट्ने बताउनुभयो ।

सिंगा तातोपानी कुण्डको नदि नियन्त्रण योजनाका लागि चालु आर्थिक वर्षमा प्रदेश र संघीयबाट रु. पचास लाख बिनियोजन भएको जानकारी गराउदै थप बजेट व्यवस्थापन गर्न पहल गरेको बताउनुभयो ।

खेलकुदले सबैलाई सहकार्य, सद्भाव र समन्वयको सन्देश दिने बताउदै उहाँले मेलाजात्रालाई सुरक्षित र विकृतिरहित बनाउनुपर्ने बिचार व्यक्त गर्नुभयो । खेल पूर्वाधार निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले सिंगा देखि डाडाखेत जोड्ने सडक स्तरोन्नतिको काम भइरहेको, डाडाखेतमा खानेपानी योजनाका लागि बजेट व्यवस्थापन भएको र सिंगा खेलमैदान निर्माणमा आगामी वर्षको योजनामा पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

 

म्याग्दीको गुर्जा बाहेकका बस्तिका दुई हजार भन्दा बढी घरधुरीमा पूर्ण विद्युतीकरण गर्न रु. २० करोडको योजना शुरु भएको जानकारी दिदै सांसद भण्डारीले बेनी–भकिम्ली सडक स्तरोन्नति गर्न रु. दश करोड र बेनी–पाखापानी सडक कालोपत्र गर्न रु. २० करोडको यसै वर्ष ठेक्का लाग्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले म्याग्दीका खेलमैदान निर्माणमा प्रदेश सरकारले प्राथमिकताका साथ योजना सञ्चालन गरेको जानकारी गराउदै खेलकुद प्रतियोगितालाई नियमसंगत हिसावले व्यवस्थित रुपमा खेलाउनुपर्ने बताउनुभयो ।

बेनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अणबहादुर खड्का भगवान, पुर्व वडा अध्यक्ष गोविन्द पौडेल, वडा सदस्य क्रेन खत्रीले सिंगा खेलमैदानमा प्याराफिट बनाउन मन्त्री जुग्जाली र सांसद भण्डारीको ध्यानाकर्षण गराउनु भएको थियो ।

धवलागिरी माविका शिक्षक रमेश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा म्याग्दी फुटबल संघका अध्यक्ष कुमार बानिया, म्याग्दी जेसीजका अध्यक्ष सुमन बानिया लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

जनचेतना युवा क्लवका अध्यक्ष सुरेन्द्र भण्डारीको अध्यक्षता र पुर्व अधयक्ष देवेन्द्र चोखालको स्वागतमा सम्पन्न कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । खेलमैदान निर्माणमा योगदान गरेको भन्दै वडा कार्यालयले क्लव अध्यक्ष भण्डारी र चयन्द्र श्रीसलाई सम्मान गरेको थियो ।