वडाध्यक्ष खत्रीले आठौँ पटक जिते छेलो पहलमानको उपाधि

विकल्प न्युज/ बेनी

कार्तिक ६ गते ।

म्याग्दी  धौलागिरि–७ स्थित ऐतिहासिक ताकमकोतमा आयोजना गरिँदै आएको छेलो फाल्ने प्रतियोगितामा ताकमका अशोक खत्री आठौँ पटक विजयी भएका छन।

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फालेका ताकमका वडाध्यक्ष समेत रहेका खत्रीलाई आयोजकले पहलमान घोषणा गरेका थिए।

प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ जना युवाले सहभागिता जनाएका थिए।पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई सो क्षेत्रमा पहलमान मान्ने गरिन्छ।

हरेक वर्ष महानवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरेर पहलमान पहिचान गर्ने चलन रहेको छ । खत्रीले आठौँ पटक पहलमानको उपाधि जित्दा यसअघि २०७८ र २०७९ मा विजयी भएका मालिका गाउँपालिका–१ निस्कोटका याम परियार दोस्रो बने।

यसअघि विसं २०७० देखि ७६ सम्म सात वटा उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाएका  थिएन।२०७९ मा यामसँग पराजित भएका थिए। निरन्तरको अभ्यास, शारीरिक व्यायाम र स्वच्छ खानपानले उपाधि जिताउन सहयोग गरेको खत्रीले बताए।

विजयी खत्रीलाई गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जाली, धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम पुुन, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुुनमगर, पूर्वउपध्यक्ष रेशम छन्त्याललगायतले फेता गुटाएर सम्मान गरेका थिए।