अन्नपूर्ण र बेनीलाई प्रथम मोना कपको उपाधि

ठाकुरप्रसाद आचार्य/बेनी
म्याग्दी,असोज २५ गते ।

म्याग्दीको बेनीमा संचालन भएको प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तर्फ अन्नपूर्ण गाउँपालिका र पुरुष तर्फ बेनी नगरपालिकाले उपाधि हात पारेका छन् ।

बेनीको खुल्ला मञ्चमा विहिवार सम्पन्न भएको फाईनल खेलमा महिला तर्फ मालिका गाउँपालिकालाई १ का विरुद्ध ३ सेटको जित निकाल्दै अन्नपूर्णले उपाधि हात पारेको हो । यसैगरी पुरुष तर्फ बेनी नगरपालिकाले मंगला गाउँपालिकालाई शून्यका विरुद्ध सोजो ३ सेटमा पराजित गर्दै बेनीले उपाधि हात पा¥यो ।


प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने पालिकाले क्रमश १ लाख ५० हजार, ७५ हजार, ५० हजार र सान्त्वना पुरस्कार २० हजार रुपियाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । शुक्रबार विजेता पालिकालाई पुरस्कार वितरण गरिने छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको हो ।