बेनीमा प्रथम मोना कप भलिबल प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य /बेनी
म्याग्दी,असोज २४ गते ।

बेनीमा बुधवार देखि प्रथम मोना कप भलिबल प्रतियोगिता सुरु भएको छ । म्याग्दी प्रवासी नेपाली संघ(मोना) को आयोजनामा बेनीको खुल्ला मञ्चमा पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो ।

संसारभर छरिएर रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं अधिवेशनको अवसरमा प्रथम मोना कप भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता २५ गते सम्म संचालन हुने छ ।
प्रतियोगितामा जिल्लाका बेनी नगरपालिका,मंगला ,मालिका,धवलागिरि,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका खेलाडीहरुले सहभागिता जनाएका छन् ।
खेलक्षेत्रका प्रतिभा पहिचान गरेर दक्ष खेलाडी उत्पादन गर्न कपको उद्देश्य रहेको भलिबल प्रतियोगिताका मुल संयोजक तथा मोनाका उपाध्यक्ष जंग पुनले बताउनुभयो ।

पुरुष तथा महिला भलिबल प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई पालिकालाई क्रमशः एकलाख पचास हजार,७५ हजार,पचास हजार र सान्त्वना पुरस्कार २० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएका छन् ।