म्याग्दीमा हाब्रे संरक्षण कार्यक्रम सञ्चालन गरिने

विकल्प न्यूज/बेनी
असोज २२ गते ।

 विश्वमै दुर्लभ जङ्गली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको म्याग्दीमा संरक्षणको कार्यक्रम सञ्चालन हुने भएको छ। धवलागिरि गाउँपालिका– २ लुलाङको जलजलास्थित जङ्गलमा च्याउ टिप्न गएका सुवास थापाले केही दिनअघि जिल्लामै पहिलो पटक हाब्रेको भिडियो खिचेका थिए। हाब्रे भेटिएको सम्बन्धी समाचार गत बिहीबार राससमार्फत सार्वजनिक भएको थियो।

म्याग्दीमा हाब्रेको बसोबास रहेको तथ्य प्रमाणित भएपछि अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएड)ले संरक्षण कार्यक्रम सञ्चालन गर्न चासो दिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए।

‘हाब्रे भेटिएको खबर सार्वजनिक भएपछि युएसएडअन्तर्गत गण्डकी प्रदेशमा लागू भएको जल र जङ्गल परियोजनाका अधिकार आइतबार वन डिभिजन कार्यालयमा आएर संरक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गर्नुभएको छ’, उनले भने।

जैविक विविधता र वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने उक्त परियोजनाका ल्याडस्केप टिम लिडर मानबहादुर विक र वरिष्ठ कार्यक्रम अधिकृत सोभियत कोईरालाको टोलीले डिभिजन वन कार्यालयसँग हाब्रे संरक्षण कार्यक्रम सञ्चालनको विषयमा छलफल गरेका हुन्।

‘नयाँ र उपलब्धि देखिने काम हुने भएकाले म्याग्दीमा हाब्रे संरक्षणको कार्यक्रम परियोजनामा समेट्ने समझदारी भएको छ’, वन अधिकृत रानाभाटले भने, ‘स्थानीय तह र वन डिभिजन कार्यालयसँग छलफल गरेर संरक्षणका कार्यालय बनाउने विषयमा छलफल भएको छ।’

सात वर्षअघि भएको अध्ययनका क्रममा जलजलाको जङ्गलमा भेटिएको दिसाको आधारमा हाब्रेको बासस्थान भएको बताइएको थियो। म्याग्दीमा यसअघि दुुलर्भ वन्यजन्तुु रेडपाण्डा भौतिकरुपमा देखिएको थिएन। संरक्षण कार्यक्रमको प्रभाव, चोरीसिकारी नियन्त्रण र जनचेतना अभिवृद्धिका कारण हाब्रे देखिन थालेको विषयमा अनुसन्धान गर्दै आएका बद्री बरालले बताए।

विसं २०७३ मा विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले लज्जालु स्वभावको हाब्रे खोजी अभियान सञ्चालन गरेको थियो। लुलाङको मरेनी सामुदायिक वन, ढोरपाटन सिकार आरक्षको जलजला, गुर्जा र मुदीको जङ्गलमा हलुका रातो, सेतो र कालो रङको रेडपाण्डाको बासस्थान फेला पारे पनि प्रत्यक्ष देखिएको थिएनन्।

रातको समयमा रूखको टोड्कामा बास लिने र दिउँसो रूखका हाँगामा बसी आराम गर्ने, भोक लागेका बेला निगालोको टुसालगायत झारपात खान भुइँमा झर्ने रेडपाण्डाको बासस्थानका विषयमा हरियो वन कार्यक्रम र रेडपाण्डा नेटवर्कले धौलागिरि गाउँपालिकाको गुर्जा, लुुलाङ तथा मुदीमा अध्ययन गरेका थिए।

रेडपाण्डाका लागि आवश्यक आहारा निगालो तथा मालिङ्गो र टोड्का परेका रुख यस क्षेत्रको जङ्गलमा पर्याप्त छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत रेडपाण्डालाई संरक्षितको सूचीमा राखिएको हो । रेडपाण्डा संरक्षण गर्न नेपाल सरकारले सन् २०१९ देखि २०२३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति लिएको छ।

रेडपाण्डाको चोरी सिकारमा संलग्नलाई रु पाँच लाखदेखि रु १० लाख जरिवाना, पाँचदेखि १५ वर्ष कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ। रेडपाण्डाको सङ्ख्या नेपालमा पाँच सयदेखि एक हजार रहेको अनुमान गरिए पनि दुई सय ३७ को मात्र यकीन भएको छ। विश्वमा नेपाल, चीन, भारत, भूटान र म्यान्मामा मात्र रेडपाण्डाको बासस्थान छ । नेपालमा एलुरेन्स फ्युजन्स जातको रेडपाण्डा छ । नेपालका २४ जिल्लामा रेडपाण्डा पाइने रेडपाण्डा नेटवर्कले जनाएको छ। रासस