सत्र वर्षीय निमा रेन्जी शेर्पा धौलागिरिको चुचुरोमा

विकल्प न्यूज/बेनी
असोज १३ गते ।

 


सत्र वर्षीय पर्वतारोही निमा रेन्जी शेर्पाले शुक्रबार विहान संसारको सातौं अग्लो धौलागिरि हिमालको सफल आरोहण गर्नुभएको छ । निमा सहित सेभेन समिट टे«क्सका अन्य १२ जनाले पनि धौलागिरिको आरोहण गरेका छन् । शरद ऋतुको सिजनमा धौलागिरिको शिखरमा पुग्ने यो पहिलो टोली बनेको छ । ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ ।

आरोहीहरु धौलागिरिको चुचुरोमा पुगेसँगै यो सिजनका लागि बाटो खुलेको छ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्गमा शेर्पा सहितका आरोहीहरुले शुक्रबार विहान धौलागिरि हिमालको चुचुरोमा पुग्ने बाटो खोल्नुका साथै आरोहण गरेको एसएसटीका निर्देशक छाङ दावा शेर्पाले जानकारी दिनुभयो । हिमाली मौसम सफा भएकाले आरोहण गर्न सहज भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पासाङ दावा शेर्पा, मिङ्मा शेर्पा, तेन्जिन (लामा) शेर्पा र निमा रिन्जी शेर्पाले धौलागिरिको सफल आरोहण गरेका हुन । यसैगरी मिङ्तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा, एलिना पेकोभा (रसिया), अलास्डायर म्याकेन्जी (फ्रान्स), होस्कुलडुर ट्रिग्भासन (आइसल्याण्ड), मोसेस फियामोन्सिनी (ब्राजिल),नाङ्वा शेर्पा, मिङ्मा नर्बु शेर्पा र प्रिपेड शेर्पाले पनि धौलागिरिको आरोहण गर्नुभएको छ ।

ADV

सेभेन समिट ट्रेकका तर्फबाट धौलागिरिको आरोहणका लागि २० जना आरोही आधारशिविरमा पुगेका मध्य १३ जनाले आरोहण गरेको प्रबन्धक थानेश्वर गुरागाईँले बताउनुभयो । अन्य आरोहीहरु आधारशिविरमा पुग्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

गत सिजनमा चारवटा समुहका १२ महिला सहित ३७ जनाले धवलागिरि हिमालको आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यो सिजनमा यो संख्या बढ्ने अपेक्षा गरिएको छ । आरोही र सहयोगीहरु धौलागिरि आधार क्षेत्रमा पुग्न थालेपछि चहलपहल बढेको छ ।