खुल्यो यो सिजनका लागि धौलागिरि आरोहण

ठाकुरप्रसाद आचार्य/बेनी
असोज १२ गते ।

शरद ऋतुमा धौलागिरि हिमाल आरोहणको लागि बाटो खुलेको छ । ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्दछ । शुक्रबार विहान १३ जना शेर्पाहरुको टोलीले धौलागिरि चुचुरो सम्म पुग्ने बाटो खोलेका हुन । सेभेन समिट ट्रेकमा आवद्ध शेर्पाहरुले धौलागिरिको चुचुरो सम्म पुग्ने बाटो खोली धौलागिरिको सफल आरोहण समेत गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार पासाङ दावा शेर्पा, मिङ्मा शेर्पा, तेन्जिन (लामा) शेर्पा र निमा रिन्जी शेर्पाले धौलागिरिको सफल आरोहण गरेका हुन ।

यसैगरी मिङ्तेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा, एलिना पेकोभा (रसिया), अलास्डायर म्याकेन्जी (फ्रान्स), होस्कुलडुर ट्रिग्भासन (आइसल्याण्ड), मोसेस फियामोन्सिनी (ब्राजिल),नाङ्वा शेर्पा, मिङ्मा नर्बु शेर्पा र प्रिपेड शेर्पाले पनि धौलागिरिको आरोहण गर्नुभएको छ ।

सेभेन समिट ट्रेकका तर्फबाट धौलागिरिको आरोहणका लागि २० जना आरोही आधारशिविरमा पुगेका मध्य १३ जनाले आरोहण गरेको प्रबन्धक गुरागाईँले बताउनुभयो । अन्य आरोहीहरुले आधारशिविरमा पुग्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । गत सिजनमा चारवटा समुहका १२ महिला सहित ३७ जनाले धवलागिरि हिमालको आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यो सिजनमा यो संख्या बढ्ने अपेक्षा गरिएको छ ।