दोस्रो गल्फ प्रतियोगिताको उपाधी तामाङ र गुरुङलाई

ठाकुरप्रसाद आचार्य \बेनी
म्याग्दी,भदौ ३१ गते ।

  

मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित ल्वाथाङमा सम्पन्न दोस्रो गल्फ कोर्स प्रतियोगिताको उपाधी पुरुष तर्फ श्याम तामाङ र महिला तर्फ जुनी गुरुङले प्राप्त गर्नुभएको छ । शनिबार साँझ सम्पन्न भएको प्रतियोगितामा लिलाजंग गुरुङ र सुस्मा सिंह उपविजेता घोषित हुनुभयो ।


यसैगरी प्रतियोगिताका विभिन्न विधाहरु मध्य क्रस विजेता रविन राना,सिनियर विजेता बलराम थापा,लङग्यज ड्राइभमा माधव सिंखडा मस्टबडीमा आत्म सिंखडा विजयी घोषित हुनुभयो । विजेताहरुलाई आयोजकले ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा काठमाडौँ, धरान, पोखरा, बुटवल लगायतबाट चार जना महिला सहित २८ जना खेलाडीले सहभागिता जनाएको आयोजकले जनाएका छन् ।
गल्फ कोर्स व्यवस्थापन समितिका सदस्य भुवन गुरुङले दिएको जानकारी अनुसार प्रतियोगितामा कसैले पनि होल इन वान गर्न सकेनन् । जसको पुरस्कार एकलाख पर्ने एउटा घोडा राखिएको थियो ।

विश्वको सबैभन्दा उच्च ४ हजार ६ सय ४५ मिटर उचाइमा प्रतियोगिताको आयोजना संचालन गरिएको आयोजकले जनाएका छन् । प्रतियोगितालाई आगमी वर्षहरुमा पनि निरन्तरता दिने आयोजकले जनाएका छन् ।

प्रतियोगिताले लोमान्थाङको पर्यटन प्रवद्र्धनलाई टेवा पुगेको विश्वास गरिएको छ । संसारकै सबैभन्दा उचाइको गल्फ कोर्सको विश्व रेकर्ड बनाउने हाम्रो प्रयास हो गल्फ कोर्सका व्यवस्थापक इन्द्रधारा विष्टले भन्नुभयो, ‘‘त्यसका लागि आवश्यक प्रक्रिहरु सुरु गरेका छौं ।’’
प्रतियोगितालाई आगमी दिनमा पनि निरन्तरता दिने उहाँले बताउनुभयो । प्रतियोगिताका वारेमा संसारभर प्रचारप्रसार गरेर विदेशी खेलाडीहरुलाई पनि आकर्षीत गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।