छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविलाई

विकल्प न्यूज\बेनी
भदौ २५ गते ।

 बेनीमा शनिवार सम्पन्न दोस्रो दोभान कप छात्रा फुटवल प्रतियोगिताको उपाधी जनप्रिय माविले जितेको छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविसंगको फाइनलमा पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङस्थित जनप्रिय मावि दरबाङकी गोलरक्षक अस्मिता दर्जीले पेनाल्टी सुटआउटमा उत्कृष्ट खेल प्रर्दशन गरेसँगै उपाधी चुमेको हो ।

#ADV

अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा जनप्रिय माविले बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४–२ गोलअन्तरले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुबै पक्षका खेलाडीले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

पेनाल्टीमा जनप्रियकी गोलरक्षक अस्मिताले उत्कृष्ट बचाउ र गोल प्रहार गरेकी थिईन् । सेमिफाइनलको खेलमा समेत बेनी सामुदायिक माविलाई रोक्न अस्मिताको गोल निर्णायक भएको थियो । सेमिफाइनलमा जनप्रिय माविले बेनी सामुदायिक मावि र न्यु वेष्ट प्वाइन्ट माविले प्रकाश माविलाई रोक्दै फाइनलको यात्रा तय गरेका थिए ।

न्यू दोभान युथ क्लवले दिवंगत पूर्व अध्यक्ष अनन्त गिरीको स्मृतिमा ’९ ए साइड’ फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रथम र द्धितिय हुन सफल समूहलाई क्रमश रु ४५ हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, जिसस समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी न्यु वेष्ट प्वाइन्टकी निकिता सिंह ठकुरी, सर्वाधिक गोलकर्ता प्रकाश माविकी प्राप्ती मगर,उत्कृष्ट गोलरक्षक जनप्रिय माविकी अस्मिता दर्जी क्रमश ३ हजार नगद र अनुशासित टिमलाई अनुशासित टिम बेनी सामुदायिक माविलाई५ हजार नगदले बेनी पुरस्कार प्रदान गरिएको छ । आयोजक दोभान यूथ क्लवका अध्यक्ष उपेन्द्र गिरीले छात्राहरुलाई फुटबल खेलप्रती आकर्षित गर्ने उद्देश्यले खेल आयोजना गरिएको जानकारी दिनुभयो । प्रतियोगितामा १० टिमको सहभागिता जनाएका थिए ।