मराङकी गर्भवतिलाई हेलिकप्टरबाट उद्दार

विकल्प न्यूज\बेनी
साउन १६ गते ।

धवलागिरि गाउँपालिका ६ मराङकी एकजना गर्भवतिको मंगलबार हेलिकप्टरबाट उद्दार गरी पोखरा पु¥याइएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीय दीपा पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरि गाउँपालिको समन्वयमा उद्दार गरिएको हो ,
गर्भवति केसी मंगलबार विहान सुत्केरी हुनका लागि मराङ स्वास्थ्य चौकीमा पुग्नुभएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि केसीलाई हेलिकप्टरको सहयोगमा उद्दार गरी पोखरा लगिएको धवलागिरि गाउँपालिकाको स्वास्थ्य संयोजक संझना कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको गण्डकी अस्पतालमा केसीले छोरी जन्माउनुभएको छ ।

आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ उहाँले भन्नुभयो, ‘‘मंगलबार बिहान ६ बजे मराङ स्वास्थ्य चौकीमा पुगेकी दीपाको स्वास्थ्य अवस्थ जटिल हुँदै गएपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गर्नुपर्ने देखिएकाले प्रदेश सरकार सँग समन्वय गरेर हेलिकप्टरबाट पोखरा लगिएको हो ।’’

गण्डकी प्रदेश सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हेलिकप्टरबाट उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । दुर्गम भेगका गर्भवति तथा सुत्केरी महिलाको तत्काल उद्दार गर्नुपर्ने अवस्थामा गण्डकी प्रदेश सरकारले ल्याएको यो कार्यक्रम प्रभावकारी देखिएको छ ।