धौलागिरिको शिखरमा पुगे आरोही

ठाकुरप्रसाद आचार्य/म्याग्दी
जेठ २ गते ।

संसारको सातौं अग्लो धौलागिरि हिमालको शिखरमा आरोहीहरु पुग्न थालेका छन् । प्रतिकुल मौसमका कारण झण्डै एकमहिना आधारशिविरमा रोकिएका आरोहीहरु अनुकुल मौसमपछि धौलागिरिको चुचुरोमा पुग्न थालेका छन् । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल आइतबार नेपाली समय अनुसार विहान ७ बजेर ३० मिनेटमा पोल्याण्डका दुईजना आरोहीले धौलागिरिको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक्सका तर्फबाट उनीहरु धौलागिरिको आरोहण गरेको ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिनुभयो । उहाँका अनुसार बार्टेक जिम्स्की र ओसवाल्ड रोड्रिगो परेराको टोली शिखर चुम्न सफल भएको हो ।

वसन्तकालिन ऋतुको यो पहिलो आरोहण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रतिकुल मौसमका कारण लामो समय आधारशिविरमा रोकिनुपरेको थियो, एकहप्ता यता मौसम अनुकुलपछि आरोहीहरु चुचुरोतर्फ लागेका थिए । ६ हजार एकसय ५० मिटरको उचाईमा रहेको क्याम्प २ बाट चारदिनमा आरोहीहरु चुचुरोमा पुग्न सफल भएका हुन ।’’ फेरबदल भइरहने मौसमका कारण आरोहणमा बाधा उत्पन्न भएको उनीहरुले बताएका छन् ।

अन्य आरोहीहरु ७ हजार दुईसय ३० मिटरको उचाईमा रहेको क्याम्प ३ मा पुगेको र मौसम परिवर्तन नभए भोली बुधबार शिखरमा पुग्ने सेभेन समिटका कर्मचारी मिङमा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार स्पेनका ८३ वर्षीय कार्लोस सोरिया पनि यसपटक शिखरमा पुग्नुहुनेछ ।
कार्लोसको यो १३ औं पटकको प्रयास हो । गत वर्ष १२ औं पटकको प्रयासमा कार्लोस ७ हजार मिटरको उचाईमा पुगेर फर्किनुभएको थियो ।
धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशकयता १२ औं पटक आरोहण गर्दा पनि धौलागिरीको चुचुरोमा पुग्ने सपना पुरा हुनसकेको छैन । कार्लोसको आरोहण दलको नेतृत्व यसपटक मिङ तेम्बा शेर्पाले गर्नुभएको छ । यसपटक सेभेन समिटका तर्फबाट २६ जना आरोहीले धौलागिरि हिमाल आरोहण गर्न लागेका हुन ।

सेभेन समिट लगायत इलाइट र पाइनर एडभेन्चरको व्यवस्थापनमा आरोहीहरु धौलागिरि आरोहणका लागि पुगेका छन् । अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ । यस सिजनमा २४ पुरुष र ११ जना महिला गरी ३५ जनाले आरोहणको अनुमति लिएका छन् ।