अनुकुल मौसमपछि आरोहीहरु धौलागिरिको चुचुरोतर्फ

ठाकुरप्रसाद आचार्य /म्याग्दी
बैशाख २७ गते ।

धौलागिरि हिमालको आधार शिविर पुगेका आरोहीहरु । फाइल तस्विर

संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि आधारशिविरमा रोकिएका आरोहीहरु मौसममा सुधार आएसँगै चुचुरोतर्फ लागेका छन् । अनुकुल मौसमको प्रतिक्षामा उनीहरु करिब ४ हजार सातसय मिटर उचाईमा रहेको आधारशिविरमा तिनहप्ता रोकिएका थिए ।
म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्त ऋतुको यस सिजनमा २४ पुरुष र ११ जना महिलाले अनुमति लिएका छन् ।

‘‘आरोहणका लागि अनुकुल मौसमको प्रतिक्षामा लामो समय आरोहीहरु आधारशिविरमै रोकिनु प¥यो,’’ सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईले भन्नुभयो,‘‘हिजो आज मौसममा सुधार देखिएकाले आरोहीहरु धौलागिरिको चुचुरोतर्फ लाग्नुभएको छ । अहिले करिब ६ हजार एकसय मिटरको उचाईमा रहेको क्याम्प २ मा पुग्नुभएको छ ।’’

मौसममा गडबढी नभए अवको तिन देखि ४ दिन भित्रमा हिमाल आरोहण हुने उहाँले जानकारी दिनुभयो । गुरागाईले दिएको जानकारी अनुसार आरोहीको समूहमा रहनुभएका स्पेनका ८३ वर्षीय कोलोर्स सोरिया पनि क्याम्प २ मा पुग्नुभएको छ । कार्लोसको यो १३ औं पटकको प्रयास हो । गत वर्ष १२ औं पटको प्रयासमा कार्लोस ७ हजार मिटरको उचाईमा पुगेर फर्किनुभएको थियो ।

धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशकयता १२ औं पटक आरोहण गर्दा पनि धौलागिरीको चुचुरोमा पुग्ने सपना पुरा हुनसकेको छैन । कार्लोसको आरोहण दलको नेतृत्व यसपटक मिङ तेम्बा शेर्पाले गर्नुभएको छ । यसपटक सेभेन समिटका तर्फबाट २६ जना आरोहीले धौलागिरि हिमाल आरोहण गर्दैछन् ।

सेभेन समिट लगायत इलाइट र पाइनर एडभेन्चरको व्यवस्थापनमा आरोहीहरु धौलागिरि आरोहण गर्न लागेका हुन । अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ । साभारः गोरखापत्र अनलाइन