म्याग्दीको गुर्जालाई पूर्ण खोप सुनिश्चिता घोषणा

विकल्प न्यूज/बेनी

बैशाख २० गते ।

म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर १ गुर्जालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । गुर्जालाई घोषणा गरिएसँगै पालिका नै पूर्ण पूर्णखोप सुनिश्चिता भएको छ । १६ देखि २३ महिना सम्मका सबै बालबालिकाहरुलाई जन्मदेखि १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपहरु लगाएको भेटिएपछि गाउँपालिकाका सबै वडाहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडाको रुपमा घोषणा गरिएको हो ।
गाउँपालिकाभित्रका सबै वडाहरुमा घरधुरी सर्वेक्षण र स्थानीय स्वास्थ्य संस्थाको अभिलेखका आधारमा पूर्ण खोपको सुनिश्चिता गरिएको गाउँपालिकाले जनाएको छ ।वैशाख ३ गते मुदीबाट सुरु भएको पूर्ण खोप सुनिश्चिता घोषणा अभियान सोमबार धवलागिरि गाउँपालिका–१ गुर्जालाई घोषणा गरेसंगै गाउँपालिकाका सबै वडाहरु पूर्ण खोप सुनिश्चिता घोषणा भएको गाउँपालिकाका स्वास्थ्य शाखाका उपप्रमुख अनिशा आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गुर्जामा रहेका १६ महिना देखि २३ महिनासम्मका ४२ जना बालबालिका सबैले पुरै मात्राको खोप लगाएको पाईएको छ । जिल्लाको सबैभन्दा दुर्गम वडाको रुपमा परिचित गुर्जामा आयोजित कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीयबासी तथा सरोकारवालाहरुले आगामी दिनमा समेत बालबालिकाहरुमा सबै प्रकारका खोपको पुरा मात्रा समयमै लगाउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले विभिन्न रोगबाट बच्नका लागि बालबालिकाहरुलाई पुरा मात्राको खोपको सुनिश्चितता गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाभित्रका सबै बालबालिकाहरु पूर्ण खोपको पहुँचमा रहेकाले छिट्टै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजाल र वडा अध्यक्ष झकबहादुर छन्त्यालले घोषणालाई व्यवहारिक कार्यान्वयन गर्न अभिभावक, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी र समाजका सबै सचेत नागरिक जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा पालिका स्तरीय खोप समन्वय
समितिको तर्फबाट वडा स्तरीय खोप समन्वय समितिलाई पूर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरिएको थियो । वडा अध्यक्ष छन्त्यालको अध्यक्षता, महिला स्वास्थ्य स्वयमसेविका सुकमायाँ छन्त्यालको स्वागत र स्वास्थ्य शाखा उपप्रमुख आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सचिब अजय यादब र अनमी चोलमायाँ छन्त्यालले घरधुरी सर्वेक्षण र स्वास्थ्यको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।