धौलागिरि आरोहणका लागि ३५ जनाले लिए अनुमति

ठाकुरप्रसाद आचार्य/म्याग्दी
बैशाख १४ गते ।

Exif_JPEG_420

संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि वसन्तकालिन सिजनमा ३५ जनाले अनुमति लिएका छन् । अनुमति लिएकाहरु यतिखेर आधारशिविरमा पुगिसकेका छन् । उनीहरु अनुकुल मौसमको प्रतिक्षामा आधारशिविरमै रोकिएका छन् ।

म्याग्दीको धौलागिरि गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि आरोहणका लागि यस सिजनमा २४ पुरुष र ११ जना महिलाले अनुमति लिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिनुभयो । उनीहरु सेभेन समिट,इलाइट र पाइनर एडभेन्चरको व्यवस्थापनमा धौलागिरि आरोहण गर्न लागेका हुन ।

यसवर्ष धौलागिरि जाने आरोहीबाट ८१ लाख ५४ हजार एकसय ७० रपियाँ रोयल्टी जम्मा भइसकेको पर्यटन विभागले जनाएको छ ।
सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा २५ जना धौलागिरि आरोहणका लागि आधारशिविर पुगेको र अनुकुल मौसमको प्रतिक्षामा रहेको सभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिनुभयो ।

धौलागिरि हिमालमा हिमपात भइरहेकाले आरोहीहरु आधार शिविरमै रोकिनुभएको छ उहाँले भन्नुभयो, ‘‘मौसममा सुधार आउने वित्तिकै आरोहीहरु आधारशिविरबाट प्रस्थान गर्नुहुनेछ ।’’

हिमपात भएकाले बाटो खोल्न चुनौती भएको बेसक्याम्प पुगेर फर्किनुभएका अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।

बाटो बनाउन निकै कठिन भएको छ उहाँले भन्नुभयो, ‘‘शेर्पाहरुले बाटो बनाउने प्रयास गरिरहनुभएको छ । आजभोली मौसममा केही सुधार आएको छ । बाटो तयार भयो भने आधारशिविरमा रोकिएका आरोहीहरुले आरोहण थाल्ने छन् ।’’ अस्थिर मौसमका कारण धौलागिरि हिमाल आरोहणका लागि चुनौतीपूर्ण रहेको आरोहीहरुको अनुभव छ ।

यसैगरी म्याग्दीकै अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आठ हजार ९१ मिटर अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि यस सिजनमा ५४ जनाले अनुमति लिएका छन् । आराहीबाट एककरोड ४ लाख २६ हजार चारसय १० रुपियाँ रोयल्टी जम्मा भएको पर्यटन विभागले जनाएको छ । साभार गोरखापत्र अनलाइन