धौलागिरि आधार शिविरमा आरोहीको चलहपहल

ठाकुरप्रसाद आचार्य /म्याग्दी
बैशाख १३ गते ।

Exif_JPEG_420

स्पेनका ८३ वर्षीय कार्लोस सोरिया संसारको सातौं अग्लो धौलागिरि हिमाल आरोहणका लागि यतिखेर बेसक्याम्पमा पुग्नुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा अवस्थित ८ हजार एकसय ६७ मिटर अग्लो हिमाल आरोहण कार्लोसको यो १३ औं पटकको प्रयास हो ।

गत वर्ष १२ औं पटकको प्रयासमा कार्लोस ७ हजार मिटरको उचाईमा रहेको पहिलो क्याम्पमा पुगेर फर्किनुभएको थियो । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गर्नुभएका कार्लोसको दुई दशकयता १२ औं पटक आरोहण गर्दा पनि धौलागिरीको चुचुरोमा पुग्ने सपना पुरा हुनसकेको छैन । धौलागिरि आरोहण गर्ने सपना पुरा गर्न यसपाली कार्लोस फेरी बेसक्याम्प पुग्नुभएको छ । सबैभन्दा बढी उमेरमा विश्वका ८ हजार मिटर भन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर किर्तिमान राख्न कार्लोस सेभेन समिट ट्रेक्सको व्यवस्थापनमा धौलागिरि हिमाल चढ्न लाग्नुभएको हो ।

प्रतिकुल मौसमका कारण यतिखेर कार्लोसको आरोहण दल बेसक्याम्पमा रोकिएको छ । कार्लोसको आरोहण दलको नेतृत्व मिङ तेम्बा शेर्पाले गर्नुभएको छ । सेभेन समिटका तर्फबाट २५ जना विदेशी आरोही बेसक्याम्पमा पुगेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिनुभयो । अनुकुल मौसम भए २० देखि २५ दिन भित्रमा हिमाल आरोहण गर्ने उहाँले जानकारी दिनुभयो ।

‘‘स्पेनका ८३ वर्षी पर्वतारोही कार्लोस सोरिया सहितको आरोही टिम १२ दिन अघि बेसक्याम्पमा पुगेको छ, अहिले त्यहाँ भारी हिमपात भइरहेको खबर आएको छ,’’ सेभेन समिटका गुरागाइले भन्नुभयो, ‘‘आरोहीहरु अनुकुल मौसमको प्रतिक्षामा छन्, मौसममा सुधार आएलगत्तै आरोहीहरु धौलागिरिको चुचुरोतर्फ लाग्नेछन् ।’’ ८३ वर्षीय कार्लोसले यसपाली धौलागिरि हिमाल आरोहण गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
धौलागिरि हिमालमा हिजोआज भारी हिमपात भएका कारण आरोहीहरु बेसक्याम्पमै रोकिएको बेसक्याम्प पुगेर फर्किनुभएका अन्नपूर्ण गाउँपालिका ३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार सेभेन समिट,इलाइट र पाइनर लगातयको व्यवस्थापनमा विदेशी आरोही र शेर्पाहरु बेसक्याम्पमा पुगेका छन् ।

Exif_JPEG_420

साथै धौलागिरि राउण्ड पदयात्राका लागि पुगेका पर्यटकहरु पनि भारी हिमपातका कारण बेसक्याम्पबाट फर्किएको शेरचनले जानकारी दिनुभयो । कोरोना महामारीका कारण न्यून संख्यामा आउने गरेकोमा यसपाली उल्लेख्य मात्रामा धौलागिरि पदयात्रामा पर्यटकहरु आएको इटाली बेसक्याम्प स्थित तिलिजा होटलका सञ्चालक हरी तिलिजाले जानकारी दिनुभयो ।

ADV

धौलागिरि हिमालको आरोहणका लागि पुगेका आरोहीहरुका कारण यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । सेभेन समिट ट्रेक्सबाट मात्रै आरोहणका लागि २५ जनाको टोली आधार शिविरमा पुगेको छ । यो सिजनको आरोहणको लागि अधिकाँश आरोही आधार शिविरमा पुगिसेका छन् ।