रचनात्मक कार्यमा बगरफाँटका युवा ः खेलकुद मार्फत चिनाउँदै गाउँ समाज

धु्रवसागर शर्मा /विकल्प न्यूज
फागुन २१ गते ।


राजनीतिक आस्था र आर्थिक अवस्थाका कारण विभाजित छ समाज । समाज विभाजित हुँदा विकृति र विसंगतिहरु प्नि मौलाउँदै गएका छन् । तर,म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका युवाहरुले विभाजित समाजमा मौलाउँदै गएका विकृति र विसंगतिहरुलाई रोक्दै विभिन्न रचनात्मक कार्यहरु मार्फत समाजलाई जोड्ने र गाउँलाई चिनाउने कार्यहरु गर्दै आएका छन् ।

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दुरीमा रहेको बगरफाँट गाउँका युवाहरुले खेलकुदको माध्यमद्धारा गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने अभियानथालेका हुन् ।

युवाहरुकै अगुवाई र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १ सय मिटर लम्वाइको विशाल खेल मैदान निर्माण भएको छ । करिब रु १० लाखको लागतमा निर्माण भएको सो खेल मैदानमा आगामी चैत्र २८ गतेदेखि रु १ लाख पुरस्कार रासीको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवाक्लव बगरफाँटका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।

फुटबल प्रतियोगिताका लागि यहाँका युवाहरु एक महिना अघिदेखि नै तयारीमा जुटेका छन् । फुटबल प्रतियोगितामा करिव रु ८ लाखखर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष थापाको भनाइरहेको छ । “अहिले हामी खेल मैदानको स्तरोन्नति गर्ने र आर्थिक श्रोत जुटाउने अभियानमा छौं,सबैतिरबाट हामीलाई राम्रो सहयोग प्राप्त भैरहेको छ” अध्यक्ष थापाले भन्नुभयो “खेलकुदको माध्यमद्धारा हामीले समाजलाई संगठित बनाउने र देश विदेशमा चिनाउने लक्ष्य लिएका छौं ।”

गाउँका भाइहरुको उत्साहा र उनीहरुको कृयाकलाप देखेर÷सुनेर आफूलाई निकै खुसी लागेको र उनीहरुले आयोजना गरेको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिताको सफलताका लागि आफूले सक्दो सहयोग गर्ने हाल जापानमा रहनुभएका बगरफाँटका युवा सागर कार्कीले बताउनुभयो ।

“हामीलाई विदेशमा रहनुभएका अग्रजदाइहरु र साथीहरुबाट आवश्यक सहयोग र मार्गदर्शन प्राप्तभइरहेको छ,उहाँहरुको साथ र सहयोगले नै हामीका केही गरौं भन्ने भावना विकसितभएको हो” रिभरसाइड युवाक्लवका सल्लाहाकार एवम् बगरफाँटका सक्रिय युवा नारायण थापाले बताउनुभयो ।

बगरफाँट खेलाडीहरुको गाउँ पनि हो । यहाँकायुवाहरु जिल्ला र प्रदेश स्तरका विभिन्न खेलकुद प्रतियोगितामा पुरस्कृत र सम्मानितहुदै आएका छन् । गत माघ दोस्रोे साता पोखरामा सम्पन्न दुईवटा फुटसल प्रतियोगितामा यहाँको रिभर साइड क्लवले प्रथम र द्धितीय स्थान प्राप्तगर्दै रु १ लाख ५० हजार पुरस्कार जितेको थियो ।