कहिले पूरा होला गुर्जावासीको मोटर चढ्ने सपना !

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन ४ गते ।

म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जा एक मात्र वडा हो जहाँ अझै सडक पुगेको छैन । जिल्लाका ४५ वडा मध्य ४४ वडामा सडकको पहुँच विस्तार भएको छ । जिल्लाकै विकट र दुर्गम वडा गुर्जामा सडक विस्तार नहुँदा गुर्जावासीको दैनिकी कष्टकर छ । गाउँपालिका केन्द्र मुना आउन १० घण्टा पैदल हिड्नुपर्दछ । बेनी देखि मुना सम्म पुगेको सडकलाई गुर्जा सम्म पु¥याउन गाउँपालिकाले प्राथमिकतामा राखेपनि सिमित स्रोतसाधनका कारण पालिकाको बजेटबाट गुर्जामा सडक पु¥याउन सम्भव छैन । गुर्जावासीको सडक सपना पूरा गर्न प्रदेश सरकारको बलियो साथको खाँचो छ । तर चालु आर्थिक वर्षमा प्रदेश सरकारले न्यून बजेट विनियोजन गरेपछि गुर्जावासी निराश भएका छन् ।

गण्डकी प्रदेश सरकारले वार्षिक १० लाख रुपियाँ बजेट विनियोजन गरेर गुर्जावासीको सडक सपना एकसताब्तीमा पनि पुरा हुने देखिदैन । गाउँपालिकाले मुना–लुलाङ–गुर्जामा सडक योजनाको अघिल्लो वर्ष डिपिआर तयार पारेको थियो । डिपिआर अनुसार योजनालाई पुर्णता दिन करिब ४७ करोड रुपियाँ लागत अनुमान गरिएको गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । उक्त बजेट मुना देखि गुर्जा सम्म सडकको ट्रयाक खोल्ने,सडक स्तरोन्नती र कालोपत्र सहितको लागत अनुमान गरिएको उहाँले बताउनुभयो । सडकको ट्रयाक मात्र खोल्न पनि करिब १० करोड रुपियाँ लाग्ने उहाँले बताउनुभयो ।

कठिन भूगोलका कारण गुर्जामा सडक पु¥याउन ठूलो चुनौती छ उहाँले भन्नुभयो ‘वार्षिक रुपमा न्यून बजेट विनियोजनले पचास वर्षमा पनि गुर्जामा सडक पुग्दैन ।’ गाउँपालिकाले यसअघि सुरुङ मार्गको अध्ययन पनि गरेको थियो उहाँले भन्नुभयो ‘सुरुङ मार्गको लागत धेरै लाग्ने भएकाले सम्भव देखिएन ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा जम्मा १० लाख रुपियाँ विनियोजन गरेको छ उहाँले भन्नुभयो ‘४७ करोड रुपियाँ लागत स्टिमेट भएको योजनामा १० लाखका दरले बजेट विनियोजन गर्ने हो भने गुर्जामा सडक पु¥याउन कति वर्ष लाग्ला ?’

गाउँपालिकाको स्रोतसाधनबाट गुर्जामा सडक पु¥याउन नसकिने भएकाले संघ र प्रदेश सरकारलाई अनुरोध गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । करोडौं रकम विनियोजन गरेर गुर्जामा सडक पु¥याउन पालिकाले सक्दैन उहाँले भन्नुभयो ‘संघ र प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिनुपर्दछ ।’ डिपिआर सहित संघ र प्रदेश सरकार सँग बजेट माग गरिएको उहाँले बताउनुभयो ।

दुर्गम र विकट गुर्जावासीको सडक सपना पुरा गरिदिन पटक पटक प्रदेश सरकार सँग माग बजेटको माग गरेपनि सुनुवाई नभएको वडाध्यक्ष छन्त्यालले गुनासो पोख्नुभयो । चालु आर्थिक वर्षमा गाउँपालिकाले ४५ लाख र प्रदेश सरकारको १० लाख गरि ५५ लाख रुपियाँ विनियोजन भएको छ । बजेटको यही दरले सडकको ट्रयाक मात्र खोल्न पनि कम्तीमा १० वर्ष लाग्ने उहाँले अनुमान गर्नुभयो ।

सडकको ट्रयाक मात्र खोल्न पनि कम्तीमा १० करोड रुपियाँ आवश्यक पर्दछ वडाध्यक्ष छन्त्यालले भन्नुभयो ‘गुर्जामा सडक पु¥याउनुपर्दछ भनेर नेताहरुले भन्छन् तर बजेट विनियोजन गर्दा कन्झुस्याई गर्दछन् ।’

सडकको पहुँच नपुग्दा खच्चडको भरमा खाद्यान्न ढुवानी महंगो हुने गरेको छ । विरामीलाई अस्पताल सम्म पु¥याउन घण्टौ समय लाग्ने गरेको छ । सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा ल्याएको खाद्यान्नलगायत सामग्री चर्को मूल्य तिर्न बाध्य छन् । गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भरमा ढुवानी गर्दा गुर्जावासी दोब्बर मूल्यमा दैनिक उपभोग्य बस्तु उपभोग गर्दै आएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महंगो मूल्यमा उपभोग गर्न बाध्य गुर्जाका जनता रहेको अध्यक्ष छन्त्यालले बताउनुभयो । खाद्यान्न मात्र होइन, कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही बिरामी भए भने स्थानीयवासीले बोकेर अस्पताल सम्म पु¥याउनुपर्ने समस्या झनै बढी पीडादायी छ । गोरखापत्र दैनिकबाट