ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी

विकल्प न्यूज/बेनी
पुस २४ गते । धवलागिरी गाउँपालिका ७ मा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहाँसिक ताकमकोत पुग्ने पदमार्ग निर्माणको तयारी भएको छ ।

ताकम घनाबस्ती विकास कार्यक्रम अन्तरगत सहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङको सहयोगमा काफलडाँडाको देउराली देखि कोतघर परिसर जोड्ने सिढी र रेलीङ सहितको पदमार्ग निर्माण गर्न लागिएको हो ।

ताकम घनाबस्ती विकास कार्यक्रमको लागि तयार पारिएको डिपीआर अनुसार ताकमकोत जोड्ने पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट समेत बिनियोजन भएको उपभोक्ता समितिका सचिव तेजिन्द्र थापाले जानकारी दिनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष यामबहादुर कार्कीको अध्यक्षतामा सोमबार ताकममा भएको भेलाले चालु आर्थिक वर्षमा घना बस्ती विकास कार्यक्रमका लागि बिनियोजन भएको तीस लाख रुपैयाँ बजेट मध्य तीन लाख रुपैयाँ ताकमको सामुदायिक भवनमा रंगरोगन र फर्नीचर व्यवस्थान तथा बाँकी २७ लाख रुपैयाँ पदमार्ग निर्माणमा बिनियोजन गरेको थापाले जानकारी दिनुभयो ।
डिपिआर अनुसार करिब तीन सय मिटर पदमार्ग निर्माण गर्ने योजना छ । भिरालो र उकालो बाटोमा पदमार्ग निर्माण भएपछि भक्तजन तथा पर्यटकहरुले सुरक्षित रुपमा आवत जावत गर्ने सुबिधा पाउने जनाइएको छ ।

बाइसे चौबीसे राज्यका पालामा निर्माण भएको ताकमकोत स्थित अन्नपूर्ण जगन्नाथ मन्दिर पुननिर्माणको पनि गत महिना शिलन्यास भएको थियो ।