धवलागिरीको मोवाइल एप्स

विकल्प न्यूज/बेनी
पुस १३ गते ।
म्याग्दीको धवलागिरी गाउँपालिकाले शुक्रबारदेखि मोबाइल एप्स् सेवा सञ्चालनमा ल्याएको छ । मोवाइल एप्स् मार्फत सर्वसाधारणले घरमै बसेर पनि गाउँपालिकाको गतिबिधि र प्रवाह गर्ने सेवाबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लीकेशनमा गएर धवलागिरी मुनिसिपालिटी टाइप गरी इन्स्टल गरी हेर्न सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुवास थापाले जानकारी दिनुभयो । सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप्स् सञ्चालनमा ल्याएको थापाले बताउनुभयो । एप्स्बाट गाउँपालिकाको सेवा, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडाका विवरण, महत्वपूर्ण स्थानको जानकारी र आपत्कालीन टेलिफोन नम्बरको जानकारी लिन सकिने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

सूचनामा गाउँपालिकाबासीको सहज पहुँच स्थापित भई सेवा प्रवाह र विकास गतिबिधिमा नागरिकको चासो, सहभागिता, सक्रियता बढ्ने एवं पारदर्शीता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसअघि रघुगंगा र मंगला गाउँपालिकाले पनि मोवाइल एप्स सञ्चालनमा ल्याइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा बेनी नगरपालिका, मालिका र अन्नपूर्ण गाउँपालिकाको पनि मोवाइल एप्स बनाउने तयारी भएको छ ।