धवलागिरी गाउँपालिकामा इन्टरनेट सेवा विस्तार

सन्तोष गौतम/विकल्प न्यूज
बेनी ९ मंङसिर । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयमा शनिबार पहिलो पटक इन्टरनेट सेवाको पहुँच पुगेको छ ।

नेपाल टेलीकमको प्राबिधिक सहयोगमा गाउँपालिकाको पहलमा कार्यालयमा इन्टरनेट जडान भएको हो । मुदीको फालडाँडामा रहेको टेलीकमको रिपीटर टावरमा उपकरण जडान गरेर इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको सूचना प्रबिधि अधिकृत सुवास थापाले जानकारी दिनुभयो ।

नेपाल टेलिकमको पोइन्ट टु पोइन्ट प्रबिधिको इन्टरनेट सेवा पु¥याउन रिपीटर टावर र गाउँपालिकाको कार्यालयमा उपकरण जडान गरिएको छ । दुई एमबिपिएस क्षमताको इन्टरनेट जडान भएको अधिकृत थापाले बताउनुभयो ।

इन्टरनेट जडान गर्न रिपीटर टावरमा गाउँपालिकाले दुई वटा ब्याट्री राखेको छ । बिजुली चम्किदा र चट्याङ परेको अवस्थामा पनि इन्टरनेट सेवालाई प्रभाव नपर्ने उपकरण जडानको तयारी भएको छ ।

इन्टरनेट सेवा उपलब्ध भएपछि गाउँपालिकाको दैनिक सेवा प्रवाह र सूचना आदानप्रदान गर्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो । यसअघि इन्टरनेट सेवा नहुँदा कार्यालयको दैनिक गतिबिधि र सेवा प्रवाहमा समस्या भएको थियो ।

कार्यालय सञ्चालनका लागि अति आवश्यक भएकाले गाउँपालिका आफै अग्रसर भएर इन्टरनेट सेवा विस्तार गरेको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । सूचना, सन्देश प्राप्त गर्न, प्रतिवेदन पठाउन, परिपत्र प्राप्त गर्ने देखि दैनिक कार्य सञ्चालन र सेवा प्रवाहमा इन्टरनेट सुबिधा भएपछि सहज भएको उहाँको भनाई छ ।

यसअघि इन्टरनेट सेवाका लागि धवलागिरी गाउँपालिकाका कर्मचारीहरु छिमेकी मालिका गाउँपालिकाको केन्द्र दरवाङ र सदरमुकाम बेनी बजार सम्म पुग्न बाध्य थिए । इन्टरनेटको सुबिधा भएपछि सेवा प्रवाहमा सहजता र सुधार हुने गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अपेक्षा छ ।
गत जेठमा गाउँपालिकाकै अगुवाईमा मुनामा मोवालल सेवा विस्तार भएको थियो । फालडाडाँमा मोवाइल टावर स्थापनाका लागि गाउँपालिकाले गत वर्ष पाँच लाख रुपैयाँ खर्च गरेर भवन बनाएको अध्यक्ष पुनले बताउनुभयो ।
तेस्रो पुस्ताको (थ्रिजी) इन्टरनेट सहितको बिटीएस टावर सञ्चालन भएपछि गाउँपालिकाको केन्द्र मुना, मुदी, खिवाङ, खोरीया, फलीयागाउँ, घट्टेखोला क्षेत्रमा मोवाईल सेवा विस्तार भएको थियो । विद्युत सेवाको पहुँच नपुगेकाले सोलार (सौर्य) उर्जा मार्फत टावर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

अध्यक्ष पुनका अनुसार गाउँपालिकाको २ नम्बर वडा लुलाङ, लमसुङ, ५ नम्बर वडा मल्कवाङ र धौलागिरी चक्रिय पदमार्गको प्रवेशद्धार बगर क्षेत्रमा पनि मोवाईल सेवा विस्तारका लागि पहल भएको छ ।
यसअघि खिवाङ गाउँमा रहेको माईक्रो बिटीएस टावरलाई लुलाङ र बगर मध्य एक ठाउँमा स्थानान्तरणको तयारी भएको नेपाल टेलिकमको बेनी शाखाले जनाएको छ ।