घरदैलोमै नागरिकता र लालपूर्जा पाएपछि गुर्जाली दङ्ग

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
कार्तिक १७ गते ।45272211_459454844587635_5322650754006122496_n म्याग्दीको विकट धबलागिरी गाउँपालिका १ गुर्जामा दुइदिन सम्म सञ्चालन गरिएको एकिकृत घुम्ती शिवीर बाट गुर्जालीहरु घरदैलोमै नागरिकता र लालपूर्जा पाएका छन् । भौगोलिक विकटता कारण सरकारी सेवाबाट बञ्चित गुर्जालीहरुलाई घरदैलोमै सरकारी सेवासुविधा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयको आयोजना र गाउँपालिकाको समन्वयमा गुर्जामा दुइदिने शिवीरको आयोजना गरिएको हो । सदरमुकामबाट २६ कोष टाढा रहेको गुर्जामा वर्षौ देखि नागरिकता, मालपोत,नामसारी र जग्गाधनी पूर्जा लगायतका सरकारी सेवाबाट गुर्जालीहरु बञ्चित थिए ।

सदरमुकाम देखी यातायातको साधनबाट गाउँपालिकाको केन्द्र मुना पुगेको एकिकृत घुम्ती शिवीरको टोली १० घण्टाको पैदल यात्रापछि विहिवार साँझ गुर्जा पुगेको हो । प्रतिनिधिसभाका सांसद भुपेन्द्र वहादुर थापा,जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रवहादुर केसी र प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी सहितको टोलीमा जिल्ला स्थित मालपोत,नापी,नेपाली सेना ,प्रहरी,स्वास्थ्य, निर्वाचन,महिला तथा बालबालिका कार्यालय लगायत स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीहरुको सहभागिता छ । सदरमुकाम बेनी पुग्न नसकेर वर्षौ देखि नागरिकता र जग्गाधनी पूर्जाबाट बञ्चित नागरिकहरुलाई घरदैलोमै पुगेर सरकारी सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिवीरको आयोजना गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । gurja-vdcअपाङ्गता,ज्येष्ठ नागरिक र आर्थिक अवस्था कमजोर भएकाहरुले सदरमुकामसम्म पुगेर नागरिकता लिन नसक्दा सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाबाट बञ्चित हुनुपरेको वडा अध्यक्ष झकवहादुर छन्त्यालले बताउनुभयो । यस्तै गाउँमा जग्गाको लेनदेन भएपनि वर्षौ देखि जग्गाधनी पूर्जा समेत पाउन सकिरहेका थिएनन् वडा अध्यक्ष छन्त्यालले भन्नुभयो “शिवीरले आर्थिक अवस्था कमजोर र सदरमुकाम जान नसक्नेहरुलाई ठूलो राहत मिलेको छ ।” वृद्धवृद्धाहरु दुइदिनको पैदल हिडेर सदरमुकाम जान नसक्दा सामाजिक सुरक्षा भत्ता लगायतका सुविधाबाट बञ्चित भएकाहरुलाई राहत मिलेको स्थानीय गुनराम छन्त्यालले बताउनुभयो । पारिवारिक रुपमा अंशवण्डा भएपनि वर्षौ देखि नामसारी नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।

शुक्रवार र शनिवार सञ्चालन हुने घुम्ती शिवीरमा जिल्ला स्थित सरकारी कार्यालयहरुले सेवा प्रवाह गर्ने प्रजिअ अधिकारीले बताउनुभयो । ८ वर्ष पछि गाउँमा घुम्ती शिवीर आएपछि गुर्जालीहरुमा खुसी छाएको उहाँले बताउनुभयो । सांसद थापा र प्रजिअ अधिकारीले ७३ वर्षीय ज्येष्ठ नागरिक उदी छन्त्याललाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरि शिवीरको सुभारम्भ गर्नुभएको थियो ।

शिवीरको शुभारम्भ गर्दै सांसद थापा र जिसस प्रमुख केसीले सरकारी सेवाबाट बञ्चित दुर्गममा वसोवास गर्ने नागरिकहरुलाई सरकारी सेवा उपलब्ध गराउन शिवीर आयोजना गरिएको बताउनुभयो । उमेरले डाँडा काटीसकेको अवस्थामा हातमा नागरिकता पाउँदा खुसी लागेको ज्येष्ठ नागरिक छन्त्यालले बताउनुभयो । शिवीर मार्फत जग्गाधनी पूर्जा पाएपछि खुसी हुँदै बलवहादुर छन्त्याल र जगनारायण छन्त्यालले हजारौ खर्चिएर सदरमुकाम जानुपर्ने बाध्यता हटेकोप्रति खुसी व्यक्त गर्नुभयो ।

त्यसैगरि शिवीरको अवसरमा जिल्ला स्थित स्वास्थ्य कार्यालय र नेपाली सेनाको टोलीद्धारा निःशुल्क स्वास्थ्य परिक्षण एवम औषधि वितरण गरिएको छ । महिला तथा बालबालिका कार्यालयले अपांगता र ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरेका छन । जिल्ला निर्वाचन कार्यालयबाट खटिएका कर्मचारीहरुले फोटोसहितको मतदाता नामावली दर्ता गरेका छन् । यसै गरी नेपाल प्रहरीको टोलीले जनचेतनामुलक कार्यक्रम गरेको प्रहरी नायव उपरिक्षक वीरवहादुर बुढामगरले बताउनुभयो ।
अंशबन्डा र जग्गा खरिदबिक्री भएपनि सदरमुकाम बेनी जाने आउने झन्झट एवं लाग्ने खर्चका कारण जग्गाधनी पूर्जा पाउन नसकेको गुर्जालीलाई सहयोग मिलेको प्रजिअ अधिकारीले बताउनुभयो ।

नापी र मालपोतबाट खटिएका कर्मचारीहरुले जग्गाको नामसारी,कित्ताकाट र जग्गाधनी पूर्जा वितरण गरेका छन् ।  शिविरबाट ८६ जनालाई नागरिकता, ९ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवी अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, निःशुल्क स्वास्थ्य शिविरबाट एकसय पचास भन्दा वढी लाभान्वित भएका छन भने ६६ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन्।

गुर्जाकै सबैभन्दा ठुलो समस्याको रुपमा रहेको लालपुर्जाको समस्या समेत समाधान भएको छ । शिविरमा अन्य सेवाको काम सकिएपनि जग्गा सम्बन्धी सेवाग्राहीको काम नसकिएकाले जग्गाधनी पुर्जा, जग्गा नामसारी, राजीनामा लगायतको सेवा भने आईतवार सम्म जारी रहने गुर्जाका वडा अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, शनिवार साँझ सम्म ३३ जनालाई जग्गाधनी पुर्जी , ३५ वटा नामसारी, ३८ वटा जग्गा राजीनामाको सेवा प्रवाह गरिएको छ ।

कुल २६० घरधुरीको बसोबास रहेको गुर्जामा ५० देखि ६० घरधुरी बाहेक अन्यको आफ्नो घर, पुस्तौँ देखि उपभोग गर्दै आएको जग्गा, जमिनको लालपुर्जा नभएको अबस्थामा घुम्ती शिविरबाट अधिकाँशले लालपुर्जा पाएका छन् ।

तस्विर राकेश शर्मा