सरकारी सेवासहितको घुम्ती शिविर गाउँपुगेपछि गुर्जालीहरु उत्साहित

विकल्प न्यूज/बेनी
कार्तिक १६ गते । gurja-vdc

जिल्ला सदरमुकाम बेनीमा रहेका सरकारी कार्र्यालयहरु सेवा सुविधा लिएर म्याग्दीकै दुर्गम धौबलागिरी गाउँपालिका १ गुर्जा पुगेपछि स्थानीयहरु उत्साहित भएका छन् ।

दुर्गम र विकट भएका कारण वर्षौ देखि नागरिकता र लालपूर्जाबाट बञ्चित गुर्जालीलाई घरदैलोमै सुविधा दिन जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको सहयोगमा गुर्जामा ८ वर्ष पछि एकिकृत घुम्ती शिविर लगेको हो । घुम्ती शिविर गाउँ आएपछि गुर्जालीहरुमा खुसि छाएको वडा अध्यक्ष झकवहादुर छन्त्यालले बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद भूपेन्द्र वहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र वहादुर केसी, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी,प्रहरी नायव उपरिक्षक बीरवहादुर वुढामगर,नापी,मालपोत,स्वास्थ्य,महिला तथा बालबालिका कार्यालय, जनप्रतिनिधि लगायत नेपाली सेना,प्रहरी र सरकारी कार्यालयका कर्मचारी सहितको टोली विहिवार साझ गुर्जा पुगेको हो ।

नागरिकता,अपाङगता परिचयपत्र,स्वास्थ्य सेवा, मालपोत र नापी सम्बन्धि सेवा उपलब्ध गराइने प्रजिअ अधिकारीले जानकारी दिनुभयो । घरदैलोमै सरकारी सेवा पाउने भएपछि गुर्जालीहरु अत्यन्तै खुसी भएको उहाँले टेलीफोन मार्फत जानकारी दिनुयभो ।

शुक्रवार र शनिवार दुइदिन गुर्जामा एकिकृत घुम्ती शिविर सञ्चालन हुने छ ।