धारापानीमा विजुली बलेपछि स्थानीयमा खुसियाली

विकल्प न्यूज/बेनी
असोज १६ गते । IMG_0927म्याग्दीको धवलागिरी गाउँपालिका ७ धारापानीमा निर्माण भएको केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण योजनाको सोमबार सार्वजनीक सुनुवाई र उद्घाटन गरिएको छ ।

योजनाको आम्दानी खर्च विवरण सार्वजनीक र सुनुवाईका लागि केन्द्रिय विद्युत विस्तार उपभोक्ता समितिले धारापानीमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा उपभोक्ता समितिका समितिका सचिव किरण थापाले आठ वर्षपछिको प्रयासमा ५६ लाख ८३ हजार ७६० लागतमा निर्माण भएको योजनाबाट २०१ घरमा केन्द्रिय प्रशारण लाइनको बिजुली विस्तार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार धवलागिरी गाउँपालिकाको ४१ लाख ८६ हजार ५९८, तत्कालीन ताकम गाविसको पाँच लाख, तत्कालीन जिविसको तिन लाख १६ हजार ९६५ र नेपाल विद्युत प्राधिकरणको छ लाख ८० हजार १६४ रुपैयाको लागतमा विद्युतीकरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष पुनले गाउँपालिकामै पहिलो पटक धारापानीमा केन्द्रिय प्रशारण लाईनको बिद्युत सुबिधा पुगेकोमा सुखी ब्यक्त गर्नुहुदै विद्युतीकरण विस्तारमा प्राथमिकता दिएको र योजना सफल बनाउन समुदायको सक्रिय सहभागीता आवश्यक पर्ने बताउनुभयो ।

पुर्व सांसद तथा नेकपाका नेता गोविन्द पौडेलले प्राकृतिक सम्पदाले धनी भएपनि भौगोलिक बिकटताका कारण पछि परेको धवलागिरी गाउँपालिकाको पूर्वाधार, आर्थिक, सामाजिक विकासका लागि समुदाय र स्थानीय तहबिच सहकार्य र सक्रियताको आवश्यकता औल्याउनुभयो ।
प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले दिगो विकास र शुसासनका लागि पारदर्शीता प्रमुख आधार भएको बताउदै प्रशासनले सरल र सहज प्रक्रियाबाट छिटो छरिटो सेवा प्रवाहको ब्यवस्था मिलाएको जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेले विकासका काममा बिवाद गर्न नहुने बताउँदै समुदाय सकारात्मक र सहयोगी बन्नुपर्ने बताउनुभयो । नेकपाका नेता होमबहादुर थापा र नेपाली काँग्रेसका नेता मनबहादुर भण्डारीले विद्युत विस्तारले खुसी छाएको बताउनुभयो ।

धवलागिरी गाउँपालिका ७ का वडा अध्यक्ष कलानिधी सुवेदी र ३ का वडा अध्यक्ष पुर्म पुनले विकासका लागि जनप्रतिनिधिलाई जनताको सहि सुझाव, साथ र सहयोगको आवश्यकता परेको बताउनुभयो ।

धारापानी सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष रेशमबहादुर बानियाले समूहको तर्फबाट विद्युतको मिटर जडानका लागि प्रतिघर एक हजार ७०० रुपैयाका दरले सहयोग गरिएको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष रिमप्रकाश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका अध्यक्ष पुनले विपन्न परिवारकी रिमा थापालाई विद्युतको मिटर बक्स खरिद र जडानका लागि व्यक्तिगत रुपमा पाँच हजार रुपैया सहयोग गर्नुभएको थियो । कार्यक्रममा उपभोक्ताहरुले योजनाको विषयमा गुनासा, विज्ञासा र सुझाव व्यक्त गरेका थिए ।