ताजा समाचार:
Search

धवलागिरीमा मोवाईल टावर विस्तार गर्न पहल

विकल्प न्यूज/बेनी
असोज ११ गते । dhaulagiri gaupalika
धवलागिरी गाउँपालिकाले सञ्चार सेवाको पहुँच विस्तारका लागि थप तीन स्थानमा जिएसएम मोवाईलको टावर स्थापना गर्न प्रक्रिया अघि बढाएको छ ।
मुना स्थित कार्यालयमा गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बिहीबार बसेको गाउँ कार्यपालिका बैठकले मुदीको नाउराको भिरको धुरी, गुर्जाको देउराली र मराङको बान्तुङ धुरीमा टावर स्थापनाका लागि नेपाल टेलिकमसंग माग गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको सबै भुगोलमा सहज सञ्चार सुबिधाको पहुँच विस्तार गर्न मोवाइल टावर स्थापनाका लागि पहल गरिएको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । बैठकले गाउँपालिका अन्र्तगतका सबै सडकलाई मर्मत गरेर दसैअघिनै सवारी साधन सञ्चालनमा ल्याउन आवश्यक काम अघि बढाउने निर्णय समेत गरेको छ ।

मुना–मुदी र अर्कला–मराङ बेशी सडकमा बर्षात र खोलानालाको बहाव हेरी प्राबिधिक अध्ययनको आधारमा मर्मत सुरु गर्ने निर्णय भएको छ । हालैको बाढी पहिरोबाट पिडित भएका ११ घरधुरीलाई ग्यावीयन जाली, पाल, कम्बल लगायत सामग्रीको साथै नगद बिस हजार रुपैयाका दरले राहत वितरण गर्ने निर्णय भएको छ ।
बैठकले गाउँपालिका अध्यक्ष पुनकी आमा दिर्का र कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालका बुवा बलमानको निधन भएकोमा शोक प्रस्ताव पारित गरेको छ ।