डा. वसन्तराज अधिकारी
उप–प्राध्यापक, पुल्चोक क्याम्पस
इन्जिनियरिङ अध्ययन संस्थान
डा. अधिकारी कालिगण्डकीमाथि पीएचडी गरेका प्राध्यापक हुन् । पुल्चोक क्याम्पस, इन्जिनियरिङ अध्ययन संस्थानका उप–प्राध्यापक समेत रहेका अधिकारी बैसरी पहिरो खस्ने बेला घटनास्थलमै थिए । उनीसहितको एक अमेरिकी टोलीले बैसरी पहिरोको अध्ययन गरेको छ । उक्त अध्ययन प्रतिबेदन एक महिनाभित्र सार्वजनिक हुने भएको छ । हामीसँग कुरा गर्दै अधिकारीले लेतेदेखि बेनीको गलेश्वर सम्मलाई उच्च जोखिम क्षेत्रको रुपमा व्याख्या गरे । विष्णु शर्मासँग अधिकारीले कालिगण्डकी कोरिडोरबारे संवाद गरेका छन् ।
कालिगण्डकी पहिरो कसरी खस्यो ?
अमेरिकी भूगर्भविद् र इन्जिनियरिङ अध्ययन संस्थानको टीम मिलेर हामी बैसरी अध्ययनमा पुगेका थियौं । भीरमा ठाडो चीरा (भर्टिकल्ली क्र्याक) भएको हामीले देख्यौं । पहिरो नजिक त पुग्न सकेनौं तर, ठाडो भीरमा कमजोर चट्टान देखिन्छ । जुन ठाउँमा पहिरो गएको छ, थिराइप भन्ने चट्टान छ त्यहाँ । पहिरोको वास्तविक कारण यही नै हो भन्ने स्थिती अहिले छैन तर, मेरो बिचारमा धैरै गइरहेका भूकम्प पराकम्पनले हल्लाइदिएर कमजोर भएकाले पहाड तल खसेको जस्तो देखिन्छ त्यहाँ । यस्ता पहिरा लेते, कालोपानीमा पनि देखिन्छन् । तर, यसलाई हामी सुख्खा पहिरो भन्छौं । प्रायः भूकम्पको तरंग आउँदाखेरी नदीले तल खियायो भने, माथि झुन्डिएको भाग चाहिँ खस्छ । यसरी पहिरो खसेको हुनसक्छ भन्ने तथ्य अहिलेसम्मको हाम्रो अध्ययनले देखाएको छ ।
मनसुनमा कालिगण्डकी गल्छेंडोको चित्र कस्तो देखिन्छ ?
म लगायत मेरा विदेशी साथीहरुले कालिगण्डकी करिडोरमा धेरै पहिलेदेखि काम गरे । संसारकै गहिरो खोंच भएकाले भीर ठाडा छन् । विस्तृत अध्ययनका लागि त बेनीदेखि लेते कालोपानीसम्म हप्ता दसदिन ट्राभर्स नै गर्नुपर्छ । डिटेलमा काम भएको छैन । कालोपानी तल त मजाले पानी पर्छ । त्यहाँभन्दा माथि पानी नपर्ने हो । अबको मनसुनमा हामीले भूकम्पले धाँजा फाटेका चीराबाट पानी छिर्न रोक्न सकेनौं भने, अहिले गएका पहिराहरु फेरि जान सक्ने देखिन्छ । लेते कालोपानीको अपोजिट साइडमा टिटीलेक भन्ने छ । त्यो पनि पहिले धौलागिरिबाट आएको पहिरोको भाग हो । कालिगण्डकी क्षेत्रमा पहिरोको समस्या पहिलेदेखि नै हो र मनसुनमा धाँजा फाटेको ठाउँमा पानी छिर्नसक्छ । बेनी जोमसोम राजमार्ग बन्दा पनि विस्फोट र भाइब्रेसन गरिएको छ । सडक बनाउँदा पहाड कमजोर हुन्छ । यसलाई राम्रोसँग व्यवस्थापन गर्न नसकिएकाले कालिगण्डकीले झनै कटान गर्न सक्छ ।
कालिगण्डकी करिडोरको जोखिम क्षेत्र कहाँदेखि कहाँसम्म पर्ने देखिन्छ ?
गलेश्वर कटेपछि कालोपानी नआइन्जेलसम्म जोखिमपूर्ण देखिन्छ । किनभने अहिले महभीरमा गयो । दानाभन्दा तल पनि त्यस्तै देखिन्छ । तातोपानी पुग्ने बेला, त्यहाँ एउटा खोला छ, त्यो उर्लेर आउनसक्छ । यसले वरिपरिको भूभाग खस्न सक्छ । सबैभन्दा खतरा भनेको घट्टेखोलादेखि तिप्ल्याङ बजार हुँदै रातोपानी क्षेत्रमा उच्च क्लिफ र स्लोप छन् । ती क्षेत्र करिडोरकै जोखिमयुक्त क्षेत्र हुन् ।
कालिगण्डकी करिडोरको विकास कसरी भएको छ र तल बग्दै जाँदा संरचनाको निर्माण कस्तो छ ?
दामोदर कुण्ड कालिगण्डकीको उत्पतिस्थल भनेर अहिलेसम्म भनिँदै आएको छ । तर, लोमान्थाङको माथि तिब्बत सीमा नजिकै गेट छ । त्यो गेटबाट पनि कालिगण्डकीमा पनि पानी आउँछ । म त्यो बोर्डरसम्म पनि पुग्या छु । रोचक कुरा भनेको –कालिगण्डकी गेट–वे भनिने चैलेमा सात आठसय मिटर अग्ला लेयर देखिन्छ । गुफाहरु प्नि बनेको छ । वास्तवमा १ करोड ४० लाख वर्ष अगाडि कालिगण्डकी थुनिएर ती भाग डिपोजिट भएका हुन् । यसअघि लार्जुङ एरियामा पनि कालिगण्डकी थुनिएको भनिन्छ । नदीले मुक्तिनाथतिरबाट पनि ढुंगामाटो बगाएर ल्याउँछ । लार्जुङनेर आइसकेपछि कालिगण्डकी एकदम साँघुरो भएको छ । कालोपानी आइसकेपछि नदीको भिरालोपन निकै उच्च भएको छ । माथि सम्मो भएर बग्या छ र तल आएपछि साँघुरो छ । जब नदी गहिरो भएर पुग्छ तब नदीको काट्ने क्षमता र वरिपरिका भाग ताछ्ने अनि झर्ने समस्या बढि हुन्छ । यस्ता ठाउँमा बढी पहिरो जाने सम्भावना देखिन्छ । कालिगण्डकी हाइड्रोपावरदेखि लिएर नारायणीमा मिसिने बेलासम्म लगभग यस्तै पार्ट देखिन्छन् ।
अन्धगल्छी वरपरका पहाड वास्तवमै बलिया छन् त ?
सबैभन्दा ठूलो पहिरो धौलागिरि हिमालदेखि सुरु भएर लेते, कालोपानी हुँदै आइपुग्यो । अहिले पहाडै खस्ने सम्भावना त देखिँदैन । साना पहिरा र रकफल खस्ने सम्भावना त छन् तर, जुरेमा गएजस्तो नीलिगिरि र धौलागिरिमा पहाडै खस्ने हाम्रो अध्ययनमा छैन ।
‘डेब्रिज’ पहिरो खस्ने जोखिम मनसुनमा कस्तो छ सम्भावना ?
डेब्रिज भनेको ढुंगा, माटो, गेग्रान एकैचोटी बगेर आउनु हो । पानी परेको बेलामा पनि आउन सक्छ, नपरेको बेलामा पनि डेब्रिज आउन सक्छ । अहिले कालिगण्डकीमा जुन पहिरो गयो, त्यो कालिगण्डकीमा एउटा पार्ट नै खस्या हो । रातोपानीभन्दा माथि जुन ढुंगामाटा, गेग्रान जम्मा भएको छन्, त्यो उच्च वर्षा भयो भने एकैचोटी स्वाट्ट तल खस्न सक्छ । त्यसलाई हामीले डेब्रिज ल्यान्डस्लाइड (डेब्रिस पहिरो) भन्छौं । यस्ता सम्भावना कालिगण्डकी कोरिडोरमा देखिन्छन् । नेपालका अन्य नदीमा पनि यस्तो सम्भावना छ ।
कालिगण्डकी कोरिडोरमा सुरक्षित बस्ती विकासका लागि के गर्न सकिन्छ ?
कालिगण्डकी करिडोरमा कुन ठाउँमा जोखिम छ, कुन ठाउँमा बस्न मिल्छ वा मिल्दैन भनेर पहिरोको जोखिम नक्सांकन गर्नुपर्छ । यो पहिचान अहिलेसम्म नेपाल सरकारले गरेको छैन । सरकारी निकायले नै गर्नुपर्छ । विश्वविद्यालयबाट अनुसन्धान गर्दा त्यसमा हाम्रो स्वार्थ लुकेको हुन्छ । त्यो कुरा पहिचान गरिसकेपछि, कुन ठाउँमा मिल्दैन त्यो ठाउँलाई स्थानान्तरण गर्ने । कुनै ठाउँमा सामान्य ट्रीटमेन्ट गरेर पनि बस्न मिल्ने ठाउँ हुन्छन् । ती ठाउँमा अध्ययन गर्नुपर्छ ।
तटीय क्षेत्रमा रहेको बसोबास र संरचनालाई जोगाउन के गर्न सकिन्छ ?
जब कािलगण्डकी नदी लेतेबाट तल झर्छ, झरिसकेपछि त्यसले एकदमै कटान गर्ने गर्ने प्रवृत्ति बढेको छ । छेउछाउका भागलाई हामीले सबैभन्दा पहिले बलियो बनाउनुप¥यो । बलियो बनाउन विभिन्न इन्जिनियरिङ तरिकाहरु छन् । कोहीमा रुख रोप्न सक्छौं, कहिँ तारजाली लगाउन सक्छौ, कहीं चेकड्याम बनाउन सक्छौं, मेसिनरी वाल लगायतका शैली हुन्छन् । यसो गर्दा माथिबाट माटो झर्ने सम्भावनालाई घटाउन सक्छौं । यसले गर्दा तलतिर पानी आइहाले पनि ढुंगा, गिटी, बालुवा आइहाल्दैन । तलका बस्तीमा त्यसले प्रभाव पार्दैन । कालिगण्डकी खुल्ने बेलामा म त्यहीं थिएँ । झोलुंगे पुलमाथिसम्म पानी आएको थियो । ढुंगा, माटो, नदीसहितको नदी आइदिएर बेनी बजारै उच्च डुबानमा परेर घरहरु क्षति हुनसक्छन् । तल्लो भागमा डिपोजिसन र कटान गर्ने सम्भावना उच्च हुन्छ । नदीका आसपासमा रहेका संरचना नष्ट हुन्छन् । यसलाई रोक्न हामीले नदीलाई आफ्नो पुरानै बहावमा बगाउने, त्यसले साइडका संरचनालाई असर नपार्ने गरि विभिन्न इन्जिनियरिङ टेक्निकको उपाय अपनाउन सकिन्छ ।
सीपेज (धाँजा फाटेको ठाउँमा वर्षात सुरु भएपछि पानी पस्ने प्रक्रिया) को सम्भावना कस्तो देख्नुहुन्छ ?
धाँजा फाटेको छ भने धाँजाबाट पानी छिर्छ । पानी छिरेको छि¥यै ग¥यो भने स्वभाविकरुपमा यसले माटोको तौल बढाउँछ । जमिन भिरालो भागतिर खस्ने सम्भावना हुन्छ । माटोमा पानी पर्ने वित्तिकै त्यसले चिप्लो बनाइदिन्छ । चिप्लो भएपछि पार्ट नै खस्छ । धाँजा फाटेका ठाउँमा समयमै मनसुन अगाडि ट्रिटमेन्ट गर्न सकिएन भने चाहिँ त्यो पार्टहरु खस्ने सम्भावना हुन्छ । त्यस्ता ठाउँ छन् भने तत्कालै सरोकारवालाहरु गएर उपयुक्त व्यवस्थापन गर्नुपर्छ ।
धौलागिरि हिमाल आसपासका हिमतालको वस्तुस्थिती कस्तो छ ? फुट्ने सम्भावना कस्तो छ ?
नेपालको पूर्वतिर भएजस्ता ठूला ताल चाहिँ छैनन् । त्यो एरियामा माथि बनेको तिलिचो लेक हो । कोवाङभन्दा माथि पनि एउटा हिमताल छ । पराकम्पनले त केही पनि गर्दैन । तर, धेरै ठूला भूकम्प आए भने त हामीले क्षतिको अनुमान नै गर्न सक्दैनौं ।
कालिगण्डकीको सबैभन्दा ठूलो थ्रेट के हो ?
कालिगण्डकीको समस्या भनेको नदी कटान र बैंक फेलिएर हो । बैंक फेलिएर भनेको नदी कटानले गर्दा साइडका भाग खस्ने हो । सबैभन्दा ठूलो थ्रेट बनेको बेनी जोमसोम राजमार्ग बनिसकेपछि त्यसको उपयुक्त ट्रीटमेन्ट नहुनु र त्यसको साइडमा बस्ती विकास हुनु र बस्तीको जोखिम मूल्यांकन नभैकन विस्तार हुनु बेनीभन्दा माथिको कालिगण्डकीको सबैभन्दा ठूलो थ्रेट हो । तर, जोखिम मूल्यांकन र नक्सांकन नभैकन सुरक्षित बस्ती विस्तारको विकल्प भन्न मिल्दैन । गोरखा भूकम्पपछि हामीले तयार पारेको विस्तृत अध्ययन विवरण एक महिनाभित्र हामी रिलिज गर्नेछौं । चारवर्ष अघि नवविकल्प साप्ताहिक वर्ष ७ अंक ३७ मा प्रकाशित