लुलाङ–गुर्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ असार । IMG_6556म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसंग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ ।

धौलागिरी गाउँपालिकाको वडा न. १ मा पर्ने गुर्जामा सहज रुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माणको गर्न भुगर्वबिद र प्राबिधीक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आईतबार सार्वजनीक गरिएको छ ।

स्टे«न्थ डेभलपर्स प्रा.लीले स्थलगत र प्रबिधिको प्रयोग गरेर धौलागिरी गाउँपालिकाको २ नम्बर वडामा पर्ने लुलाङ देखि गुर्जा जोड्ने सुरुङमार्गको भौगोलिक, वातावरणीय, प्राबिधिक, सामाजिक, आर्थिक विषयमा सम्भाव्यता अध्ययन गरेको थियो ।

सुरुङ मार्गका पाँच वटा विकल्प सहितको प्रतिवेदन तयार पारिएको ईञ्जिनियर कृष्ण गौतमले बताउनुभयो । सबैभन्दा लामो पाच किलोमिटर पाँच सय मिटर र सबैभन्दा छोटो दुई किलोमिटर ६०० मिटर दुरीको सुरुङ बनाउन सकिने ईञ्जिनियर गौतमले जानकारी दिनुभयो ।
छोटो दुरीको मानिएको लुलाङको जरेओडार देखि गुर्जातर्फको लत्रवाङ जोड्ने सुरुङ बनाउन अहिलेको बजार मूल्य अनुसार दुई अर्ब छ करोड रुपैया लागत अनुमान गरिएको छ । लामो दुरीको सुरुङ मार्ग बनाउदा जलविद्युत आयोजनामा समेत प्रयोग गर्न सकिने सम्भावना देखिएको छ ।

दरखोलालाई गुर्जा र गुर्जा खोलालाई दरखोलाा मिसाएर सुरुङ मार्गमा आवत जावतको सुबिधाका साथै जलविद्युत उत्पादनमा पनि उपयोग गर्न सकिने विकल्प दिइएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले सडक, सुरुङ, केबलकार मध्य कुनै एक माध्यमबाट गुर्जालाई जोड्नुपर्ने आवश्यकता रहेको औलाउँदै पर्यटन, जलविद्युत, वनपैदावारको उपयोगको बहुउद्देश्य राख्नुपर्ने सुझाव दिनुभयो ।
पूर्व सांसद गोविन्द पौडेलले लुलाङ गुर्जा सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सम्भाव्यता प्रतिवेदन सहित डिपीआर तयार पार्न वा अन्य विकल्पको खोजी गर्न प्रदेश, संघीय सरकार र दातृ निकासंग प्रस्ताव गरिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

एउटै बस्ती र एउटै गाउँ रहेको गुर्जामा पुग्न नजिकैको बस्ती लुलाङबाट तिन हजार ४०० मिटर उचाईको देउराली धुरी पार गर्दै कम्तीमा आठ घण्टा पैदल हिड्नुपर्छ । उकालो, ओरालो, जंगल र भिरको बाटोको पैदलयात्रा अत्यासलाग्दो हुने गर्छ । हिउँदमा हिउँ परेपछि पैदलमार्ग समेत अवरुद्ध हुने गर्छ ।

भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण सडकको विकल्पमा सुरुङमार्गको परिकल्पना गरिएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । सवारी साधन आवत जावत गर्ने, नभए पैदल मार्फत आवत जावत गर्नका लागि भएपनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाई छ ।

सडक पुगेको मुनादेखि गुर्जासम्म खच्चर मार्फत सामान ढुवानी गर्दा प्रतिकीलो २१ रुपैया लाग्छ । २३० घरधुरी छन्त्याल र दलीत समुदायको बसोबास रहेको गुर्जा पर्यटन, जडिवुटी खेती, खानी र पशुपालनका लागि प्रशस्त सम्भावना बोकेको क्षेत्र हो ।

ढोरपाटन शिकार आरक्षसंग जोडिएको गुर्जाका बासिन्दा भौगोलिक बिकटताका कारण आधारभुत स्वास्थ्य उपचार सेवाबाट बञ्चित भएका छन् । बिरामीलाई उपचारका लागि अस्पताल पु¥याउन र बढी तौल भएका निर्माण सामाग्री ढुवानी गर्न हेलीकप्टरको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

सुरुङ मार्गले जोड्न सकेमा आठ घण्टाको पैदलयात्राको समयअवधि दुई घण्टामा छोटीने वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । सुरुङ मार्ग बनेपछि सहज यातायात सुबिधासंगै पर्यटक भित्र्याउने, तामा, फलामी खानी सञ्चालन गर्ने, जडिवुटी खेती, भेडाबाख्राको बजारीकरणमा सहयोग पुग्ने गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो ।
सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि पहिलो गाउँसभाले आठ लाख रुपैया बजेट बिनियोजन गरेकोमा परामर्शदाता कम्पनीसंग चार लाख ९४ हजार रुपैयाँमा सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।