धौलागिरीका अधिकांश योजना सम्पन्न

गोपाल आचार्य/ताकम
२३ असार ।

 IMG_6536 म्याग्दीको धौलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश पूर्वाधार योजना निर्माण सम्पन्न भएका छन् ।

गाउँपालिकाले संगम म्याग्दीको व्यवस्थापन तथा समन्वयमा शुक्रबार ताकममा आयोजना गरेको सार्वजनिक सुनुवाईमा प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले ९० प्रतिशत पूर्वाधार योजनाको अन्तिम भुक्तानी भएको जानकारी गराउनुभयो ।

पूर्वाधारतर्फका ११०, लक्षितवर्गका ११ कार्यक्रम र रकमान्तर गरिएका १९ गरि १४० वटा योजना तथा कार्यक्रमका लागि ११ करोड ३८ लाख ८४ हजार रुपैयाँ बिनियोजन भएको थियो । १२५ वटा योजना तथा कार्यक्रमको अन्तिम भुक्तानी भएको र बाँकी योजनाको पनि भुक्तानीको प्रक्रियामा रहेको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

आर्थिक वर्षको अन्तिमसम्म पुँजीगततर्फ बिनियोजित मध्य १० करोड १० लाख रुपैयाँ बजेट खर्च हुने शर्माको भनाई थियो । असार १० गते मुनामा भएको गाउँसभाले आगामी आर्थिक वर्षका लागि ३२ करोड २८ लाख रुपैयाँको बजेट सहित निती तथा कार्यक्रम पारित गरिसकेको छ । IMG_6511मराङमा पुगेको, मुना–मुदी सडकको सिम्बाङ सम्म ट्याक खुलेको, धारापानीमा विद्युतीकरण सुरु, फेदी स्थित दाङखोलामा बेलीब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको, तिन ठाउँमा झोलुङ्गे पुल बनाएको, मुदीमा टेलीकमको टावर स्थापना गरेर गाउँपालिकाको केन्द्रमा सञ्चार सेवा विस्तार गरेको, मुनामा सामुदायिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको, गुर्जाको तातोपानी कुण्ड निर्माण, स्थानीय सरकार सञ्चालन सम्बन्धि कानुन निर्माणलाई गाउँपालिकाले गत वर्षको मुख्य उपलब्धी मानेको छ ।

दरबन्दि अनुसारका कर्मचारी, बैंकको अभाव, केन्द्रको बिवाद, भौगोलिक बिकटताका बावजुद बस्ती स्तरमा राज्य र विकासको पहुँच बढाउन उत्साह र सक्रियताका साथ लागीपरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । सडक, विद्युत, सरकारी निकायको पूर्वाधार निर्माणसंगै जडिवुटी, पर्यटन, कृषि र पशुपालन मार्फत आयआर्जन तथा रोजगारी सिर्जनामा प्राथमिकता दिएको अध्यक्ष पुनले बताउनुभयो ।

उपाध्यक्ष रेशम छन्त्यालले ताकममा असार महिनाभित्रनै प्रभु बैंकको शाखा स्थापना हुन लागेको जानकारी गराउदै स्थायी कार्यालयबाट नियमित सेवा प्रवाहलाई सहज बनाउने प्रतिवद्धता जनाउनुभयो । गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याल, लुलाङका कार्यपालिका सदस्य रामबहादुर बिक, मुनाका वडा अध्यक्ष पुर्म पुन, मुदीका वडा सदस्य केशरमान पुन, मराङका वडा अध्यक्ष राजाराम सुवेदी र ताकमका वडा अध्यक्ष कलानिधी सुवेदीले वडा मार्फत भएका विकास गतिबिधि तथा सार्वजनिक सेवा प्रवाहको बारेमा जानकारी गराउनुभएको थियो ।IMG_6539कृषि शाखाका योगेन्द्र राई, शिक्षाका गिरीप्रसाद छन्त्याल, पशु सेवाकी गिता नेपाली र वन कार्यालयका प्रतिनिधिले विषयगत कार्यालयबाट भएका गतिबिधिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागी स्थानीयबासीहरुले कार्यालयलाई संस्थागत र व्वस्थित गरेर एकै ठाउँबाट सञ्चालन गर्नुपर्ने, विकास योजनाको प्रभावकारी अनुगमन, पारदर्शीता सहजिकरण गर्नुपर्ने, सञ्चार सुबिधा विस्तारमा प्राथमिकता दिनुपर्ने, दरबन्दी अनुसारका कर्मचारी तथा पूर्वाधारको व्यवस्था गर्न सुझाव दिएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दुर्गम, बिकट, पूर्वाधार र पर्याप्त जनशक्तिको अभावका बावजुद धौलागिरी गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासील गरेको बताउँदै जनशक्ति र विकासका लागि प्रदेश तथा संघीय सरकारसंग समन्वय गर्ने बताउनुभयो ।

गाउँपालिका अध्यक्ष थमसरा पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको सञ्चालन र उपाध्यक्ष रेशम छन्त्यालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको उद्देश्यको बारेमा संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले प्रकाश पार्नुभएको थियो भने सहजिकरण नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सन्तोष गौतमले गर्नुभएको थियो ।

यसैबीच धौलागिरी गाउँपालिकाले ८० वर्ष उमेर काटेका जेष्ठ नागरिकलाई सम्मान गर्न सुरु गरेको छ । ताकममा एक समारोहको आयोजना गरेर जेष्ठ नागरीक सम्मान कार्यक्रम सुरुवात गरिएको हो । सबै वडामा जनप्रतिनिधीहरु मर्फत ८० वर्ष पुगेका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर नगद एक हजार रुपैयाँ सहित सम्मान गर्ने कार्यक्रम रहेको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका ७ वटै वडामा ८० वर्ष पुगेका ३१५ जना जेष्ठ नागरिक छन् ।