गोपाल आचार्य/विकल्प न्यूज
ताकम,असार ९ गते । धौलागिरी गाउँपालिका ७ ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण भएपछि घरघरमा खानेपानी सुबिधा पुगेको छ ।
पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र भारतीय दुतावासको सहयोगमा ताकमका बासिन्दाले करिब दुई वर्ष लगाएर निजी धाराको सुबिधा सहितको खानेपानी आयोजना निर्माण गरेका हुन् ।दुई करोड ६७ लाख रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट साविक ताकम गाविसको ३, ४, ५, ६ र ९ नम्बर वडाका ३३८ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिनुभयो । काफलडाँडाका ३० घरलाई ९ वटा सार्वजनिक धारा र अन्य घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ ।आयोजना निर्माणका लागि काठमाडौ स्थित भारतीय दुतावासले ६५ लाख ६७ हजार रुपैयाँ मूल्य बराबरको पाईप र सिमेन्ट सहयोग गरेको थियो । उपभोक्ताले ९१ लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् । प्रतिघर पाँच हजार रुपैयाका दरले ११ लाख ५४ हजार रुपैयाँ उपभोक्ताबाट संकलन गरिएको थापाले बताउनुभयो ।बाँकी रकम परियोजना मार्फत नेपाल सरकार, फिनल्याण्ड सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाले उपलब्ध गराएका छन् । वि.स २०७३ बैशाख १७ गते सम्झौता भएको आयोजना निर्माण सम्पन्न भएपछि शुक्रबार परियोजनाको टोलीले स्थलगत अध्ययन र सार्वजनिक परिक्षण गरेको छ ।मालिका गाउँपालिकाको जुक्जा र धौलागिरीको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटीमुलको मुहानबाट प्रतिसेकेण्ड ४ लिटरका दरले पानी आपुर्ती गरीएको छ । आयोजनाको दिगो सञ्चालन र उपभोक्ताको सुबिधाका लागि मिटर सहितको निजी धारा जडान गरीएको हो ।१३ वटा रिजर्भ टंकीबाट खानेपानी वितरण गरिएको छ । यसअघि ताकममा माग अनुसार आपूर्ती नहुँदा हाल खानेपानीको समस्या रहेको थियो । घरघरमा खानेपानी आउन थालेपछि धाराबाट गाग्री, ग्यालीन, बाल्टीबाट खानेपानी ओसार्नुपर्ने बाध्यता हटेको छ । समयको बचत भएको छ । सरसफाईमा सहयोग पुगेको छ । तस्विर गोपाल आचार्य र थरेन्द्र पौडेल