खाने गास काटेर विद्यालय चलाउँछन गुर्जाली

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
जेठ २५ गते ।  DSC_0704म्याग्दीको विकट गाउँ धौलागिरी गाउँपालिका १ गुर्जाका स्थानीयलाई गाउँमा विद्यालय चलाउन धौधौ छ । गुर्जालीहरुले चन्दा र सहयोग जुटाएर विद्यालय धानेका छन् । विद्यालय धान्नका लागि वार्षीक लाखौं रकम जुटाउनु पर्ने बाध्यता गुर्जालीलाई छ ।
गाउँमा रहेको जनकल्याण माध्यामिक विद्यालय चलाउने भरपर्दो माध्यम यार्चा गुम्बा पनि हो । कक्षा १० सम्म पढाई हुने विद्यालयमा निजी स्रोतबाट कार्यरत ४ जना शिक्षक कर्मचारीको खर्च व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणका लागि गुर्जालीहरुले यार्चा विक्री गरेर कमाएको पैसा विद्यालय चलाउन सहयोग गर्ने गरेका छन् ।

गाउँमा रहेको एकमात्र विद्यालय सञ्चालन गर्नका लागि बार्षिक १८ लाख रुपियाँ भन्दा वढी रकम स्थानीयले चन्दा र सहयोग मार्फत जुटाउँदै आएका छन् । सदरमुकाम बेनी देखि २६ कोष टाढा रहेको गुर्जामा छन्त्याल र दलित जातिको मात्र वसोवास रहेको छ । विद्यालयमा प्रर्याप्त सरकारी दरबन्दी नभएका कारण गुर्जालीहरुले निजी स्रोतबाट खर्च व्यहोर्ने गरि शिक्षक कर्मचारी भर्ना गरेको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । DSC_0696यार्चा नै यहाँको आम्दानीको मुख्य श्रोत भएको हुनाले विद्यालय सञ्चालनका लागि भरपर्दो र नियमित आम्दानी भएको स्थानीय प्रेम छन्त्यालले बताउनुभयो । यार्चा गुम्बा संकलन गरेर आर्जन गरेको पैसा विद्यालय चलाउनका लागि गाउँलेहरुले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । यार्चा संकलन गरेर विद्यालयलाई सहयोग गर्न यतिखेर गुर्जालीहरु गुर्जा,पुथा र चुरेन हिमालको फेदीमा पुगेका छन् ।

निजी स्रोतबाट मावि तहमा विज्ञान विषय पढाउने एकजना शिक्षक र आधारभुत तहमा २ र बालशिक्षाका लागि एकजना शिक्षक कर्मचारीको वार्षीक तलब खर्च गाउँलेहरुले चन्दा सहयोग जुटाउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुनराम छन्तयालले बताउनुभयो ।

विकट र दुर्गम भएकाले विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न र शिक्षकलाइ तलब खुबाउनका लागि निकै कठिन परेको अध्यक्ष छन्त्यालले बताउनुभयो । यार्चा विक्री गरेर आर्जन गरेको पैसा,गाउँमा आउने लाहुरेबाट प्राप्त हुने सहयोग र विदेशीबाट प्राप्त रकम नै विद्यालय सञ्चालनको मुख्य स्रोत भएको उहाँले बताउनुभयो ।

गुर्जालीलाईहरुलाई शिक्षकको तलब खुबाउन मात्र होइन विद्यालयमा कक्षा कोठा व्यवस्थापनमा पनि समस्या छ । विद्यालयमा कम्प्युटर र विज्ञान प्रयोगशाला कक्षाको पनि अभाव भएको विद्यालयका प्रधानाध्यापक रुपेश सुवेदीले बताउनुभयो । नयाँ भवन बनाउनका लागि गाउँलेहरुले ४ लाख रुपियाँ चन्दा सहयोगबाट संकलन गरि एकरोपनी ५ आना जग्गा समेत खरिद गरेको उहाँले बताउनुभयो । विद्यालयमा २ सय ९१ जना विद्यार्थीहरु अध्ययनरत छन् ।