पर्यटकलाई लोभ्याउँदै गुर्जाको होमस्टे

ठाकुरप्रसाद आचार्य/विकल्प न्यू
जेठ १६ गते । DSC_0668 चुरेन र गुर्जा हिमालको काखमा रहेको सुन्दर वस्ती धौलागिरि गाउँपालिका १ गुर्जा गाउँमा होमस्टे छ । गुर्जाको सुन्दरता सँग रमाउन आउने पाहुँनालाई गुर्जावासीले फुल र मालाले न्यानो स्वागत गर्दछन् । पाहुँनालाई खान र वस्ने सुविधा दिनका लागि गुर्जावासीहरुले होमस्टे सञ्चालनमा ल्याएका हुन ।
गुजुमुज्ज परेका परम्परागत शैलीका घर भएको बाक्लो बस्ती, छन्त्याल समुदायको मौलिक संस्कृति, ग्रामिण जीवनशैली, जैबिक बिबिधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण यहाँको पर्यटक आकर्षीत गर्ने माध्यम हुन । यसका साथै गुर्जा,चुरेन,पुथा र गुर्जा पश्चिम हिमालले पर्यटकलाई थप लोभ्याउने गर्दछ ।
गुर्जा देखि रुघाचौर गुर्जाघाट हुँदै ढोरपाटन पुग्नका लागि शिकारी पदमार्ग निर्माण गरिएको छ । यहि पदमार्ग भएर ढोरपाटन पुग्ने पर्यटकहरु गुर्जामा सञ्चालन गरिएको होमस्टेमा वासवस्ने गर्दछन् । ढोरपाटन शिकार आरक्षको घुस्तुङ र वार्षे व्लक यहि गुर्जामा पर्दछ । गुर्जा हुँदै ढोरपाटन पुग्ने र गुर्जाको सुन्दरताको अवलोकन गर्न आउने आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई लक्षित गरेर होमस्टे सञ्चालन गरिएको गुर्जाका वडा अध्यक्ष झकवहादुर छन्त्यालले बताउनुभयो ।  DSC_0673गुर्जालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न गाउँपालिकाले रणनैतिक योजना बनाउन लागेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो । पर्यटक प्रवद्र्धन मुलुक कार्यक्रम सञ्चालनको तयारीमा रहेको उहाँले बताउनुभयो । अहिले ६ घरमा व्यवस्थित होमस्टे छ वडाध्यक्ष छन्त्यालले भन्नुभयो,‘ पर्यटक बढ्दै जानथालेका कारण होमस्टेको संख्या बढाउने सोचमा छौं ।’ निजी क्षेत्र म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा म्याग्दी भ्रमण वर्ष २०७५ सुरु भएकाले पनि गुर्जाको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
गुर्जामा यार्सागुम्बा, निरमसी, पाँचऔले लगायत दुर्लभ ५० भन्दा बढी बनपैदावार र जडिवुटी पाईन्छन् । कस्तुरी, मृग, रतुवा, झारल,घोरल, लगायत बन्यजन्तुको गुर्जाक्षेत्रको भ्रमण गर्ने पर्यटकले अवलोकन गर्न पाउने स्थानीय प्रेम छन्त्यालले बताउनुभयो । पर्यटक आउन थालेपछि स्थानीयहरुले गाउँलाई सफा र सुन्दर बनाएका छन् । गाउलेहरुले दैनिक जसो घरआगन,बाटोघाटो र वातवरणीय सरसफाईमा ध्यान दिन थालेका छन् । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको संख्यामा वृद्धि हुनथालेपछि गुर्जावासीहरु निकै उत्साहित भएको यशोदा होमस्टेकी सञ्चालिका भिममाया छन्त्यालले बताउनुभयो । धौलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट ११ घण्टाको पैदल यात्राबाट गुर्जा गाउँ पुग्न सकिन्छ ।