मराङ सडक सञ्जालमा जोडियो

तेजीन्द्र पुन/विकल्प न्यूज
जेठ १४ गते । Marang Ma Roadमराङ म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङ सडक सञ्जालमा जोडिएको छ । मालिका गाउँपालिका ७ को अर्कला देखि मराङ खोलाको किनारै किनार सडक विस्तार गरेर मराङको बेशीमा पु¥याइएको छ । गाउँपालिका र जिल्ला समन्वय समितिद्धारा सञ्चालित अर्कला–बेशी सडक आयोजना अन्तरगत बेशीसम्म सडकको ट्याक पु¥याइएको उपाभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर पुनले बताउनुभयो ।

दुई ठाउँमा करिब दुई सय मिटर पहाडमा ट्याक खोल्न बाँकी भएपनि तिन ठाउँमा डाईभर्सन बनाएर बेशीसम्म जिप, ट्याक्सी, मोटरसाईकल, माईक्रोबस, ट्याक्टर चल्न सक्नेगरी सडक पुराएको अध्यक्ष पुनले बताउनुभयो । आगामी असार महिना भित्र बाँकी रहेको चट्टानी पहाडमा ट्याक बनाईसक्ने लक्ष्य सहित कामलाई तिब्रता दिइएको अध्यक्ष पुनले बताउनुभयो ।

२०७० मा अर्गला पुगेको सडकलाई थप तिन किलोमिटर बिस्तार गरेर बेशीसम्म पु¥याइएको हो । सडक सञ्जालमा जोडिएपछि आवत जावत, बिरामीलाई अस्पताल पुराउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी तथा गाउँमा उत्पादन भएको कृषिजन्य बस्तुको निकासीमा सहज भएको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

“बेशीबाट हिडेर अर्कला पुग्न भिर, खोल्सा र जंगलको बाटो एक घण्टा भन्दा धेरै पैदल हिड्नुपथ्यो” वडा अध्यक्ष सुवेदीले भन्नुभयो “अहिले दश मिनेमै पुगीन्छ । ढुवानी भाडा घटेको छ । स्थानीयबासीलाई आवत जावतमा सुबिधा पुगेको छ ।” उक्त सडकबाट धौलागिरि गाउँपालिकाको मराङ, मल्कवाङ र रघुगंगा गाउँपालिकाको कुईनेखानी गाउँका छ सय घरधुरी भन्दा बढी लाभान्वित भएका छन् ।

आयोजनाका प्राबिधिक कृष्ण रायका अनुसार पछिल्लो चार वर्षयता उक्त सडक निर्माणमा तिन करोड भन्दा बढी खर्च भैसकेको छ । चालु आर्थिक वर्षमा धौलागिरि गाउँपालिकाले ९० लाख र जिल्ला समन्वय समितिले कृषि सडक आयोजना अन्तरगत ७५ लाख रुपैया बिनियोजन गरेका छन् ।

गत वर्ष जिल्ला समन्वय समितिले दुई वटा शिर्षकमा एक करोड, वि.स २०७३ साठी लाख र वि.स २०७२ मा १५ लाख बिनियोजन गरेको थियो । सडक डिभिजन कार्यालयले करिब चालीस मिटर पहाड फुटाएर ट्याक खोल्न गत वर्ष करिब डेढ करोडमा सुरु गरेको काम यस वर्ष योजनाले निरन्तरता नपाएपछि रोकीएको छ ।

चट्टानी पहाडयुक्त कठिन भुगोलमा सडक निर्माण गर्दा धेरै समय र लगानी भएको प्राबिधिक रायले बताउनुभयो । अक्करे भिर छिचोलेर गाउँमा सडक र गाडी आउँदा खुसीले गदगद भएको बेशीका चुडामणी सुवेदीले बताउनुभयो ।

धौलागिरि गाउँपालिकाका अध्यक्ष रेशम छन्त्यालले ट्याक मात्र खोलीएको सडकको विस्तार, स्तारोन्नती, मोटरेबल पुल निर्माणका साथै मराङका अन्य बस्ती, मल्कवाङ सम्म सडक विस्तार गर्न प्राथमिकता दिइने बताउनुभयो ।