घुस माग्ने र खाने शिक्षाका प्राबिधिक विरुद्ध उजुरी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ८ जेठ । Surya Joti Buildingसेवाग्राहीबाट घुस लिएको आरोपमा शिक्षा विकास तथा समन्वय ईकाई म्याग्दीका दुई जना प्राबिधिक विरुद्ध उजुरी परेको छ । कक्षा कोठा भवन योजना छनौट, पेश्की निकासा र फरफारकका क्रममा डरधम्की देखाई बाध्य बनाएर घुस लिएको आरोपमा ईञ्जिनियर श्रीकृष्ण खनाल र प्राबिधिक प्रमोद उप्रेती विरुद्ध उजुरी परेको हो ।

धौलागिरी गाउँपालिका ३ दरको सुर्यज्योती आधारभुत विद्यालयको भवन निर्माण समिति, व्यवस्थापन समिति र अगुवाहरुले सोमबार दर्ता गरेको उजुरीको आधारमा सम्बन्धित कर्मचारीलाई तिन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिनुका साथै छानविन सुरु गरेको ईकाईका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।

उजुरीमा ईञ्जिनियर खनाल र प्राबिधिक उप्रेतीले आर्थिक वर्ष २०७२७३ मा सुरु भएको १९ लाख पचास हजार रुपैया बिनियोजित तिन कोठे भवनको नापचाँजका क्रममा २०७४ असोजमा बिस हजार घुस लिएको उल्लेख छ ।

यसैगरी २०७४७५ मा ३१ लाख पचास हजार रुपैया बजेटको तिन कोठे ट्रस भवन योजना पारीदिने भनेर दुई लाख पचास हजार रुपैया माग गरेका खनालले प्राबिधिक उप्रेती मार्फत पहिलो किस्ता पेश्कि निकालेपछि २०७४ मंसिर १३ गते बेलुकी पचास हजार रुपैया लिएको आरोप लगाइएको छ ।

पीडितका अनुसार पुरानो योजनाको फरफारकका क्रममा थप ६३ हजार माग गरेका थिए । उनिहरुले मागे अनुसारको पैसा नदिए कार्यालयका प्रमुख, लेखापाल रिसाउने, योजना फरफारक नहुने र भएपनी पछि बेरुजु देखिने धम्की दिएर बाध्य बनाउने गरेको पिडितले बताएका छन् । सो उजुरीमा अर्का प्राबिधिक राम उदय यादवले समेत अन्तिम किस्ता भुक्तानीका क्रममा बिनियोजित बजेटको चार देखि पाँच प्रतिशत कमीसन माग्ने गरेको उल्लेख छ ।

मोवाईलमा सम्र्पक गर्दा पैसा नलिएको र लगाइएको आरोप गलत भएको प्रतिक्रिया दिनुभएका आरोपीत ईञ्जिनियर खनाललाई मंगलबार दिउँसो पटक पटक कार्यालयमा भेट्न जाँदा उपस्थित नभएको पाइयो । जिशिअ श्रेष्ठले उजुरीलाई गम्भिर रुपमा लिएर छानविन गरिएको बताउँदै दोषी देखिए कानुन अनुसारको कारबाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।

शिक्षा कार्यालयका प्राबिधिकहरुले समयमा योजनाको नापजाँच नगर्ने, पाईलै पिच्छे अतिरिक्त पैसा माग्ने, उनिहरुले सिफारीस गरेका ब्यवसायीकहाँबाट निर्माण सामाग्री खरिद गर्नुपर्ने, भने अनुसार नगरे अनेक बाहनामा दुख दिने गरेको शिक्षक, प्रअ र व्यवस्थापन समितिका पदाधीकारीहरुले बताएका छन् ।

जिल्ला शिक्षा कार्यालयले म्याग्दीका चालु आर्थिक वर्षमा नौ वटा चार कोठे, तिन वटा तिन कोठे, १४ वटा दुई कोठे कक्षा कोठा भवन र नौ वटा छात्रामैत्री शौचालय निर्माणका लागि सात करोड ३८ लाख ५० हजार रुपैया बजेट बिनियोजन गरेको छ ।