ताजा समाचार:
Search

धौलागिरि गाउँपालिकामा विकास निर्माणमा तिब्रता

सन्तोष गौतम/विकल्प न्यूज
मराङ २५ बैशाख । IMG_1433भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धौलागिरि गाउँपालिकामा विकास निर्माणले तिब्रता पाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको र जनप्रतिनिधि निर्वाचित भएपछि सडक, घोरेटो बाटो, सामुदायीक भवन, कल्भर्ट, खानेपानी, सिँचाई, विद्यालय क्षेत्रमा विकास निर्माणले तिब्रता पाएको हो । विगतमा जस्तो आर्थिक वर्षको अन्तमा हतार हतारमा टालटुले काम गर्ने, कागज मिलाएर बजेट दुरुपयोग गर्ने प्रवृति जनप्रतिनिधि र प्रशासनीक पहुँच बढेपछि न्युनीकरण भएको स्थानीयबासीले बताएका छन् ।

विगतका वर्षमा बैशाख जेठ लागेपछि विकास निर्माणको काम सुरु हुने गरेकोमा अहिले अधिकांश पूर्वाधार निर्माणका काम बैशाख अघिनै सकिएका छन् । बस्ती बस्तीमा जनप्रतिनिधिको उपस्थिती भएपछि विकास निर्माणको काममा सहजिकरण र समन्वय भई काम गर्न सहज भएको अरगला–मराङ बेसी सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अम्मर पुनले बताउनुभयो ।

यसैबीच धौलागिरि गाउँपालिकाले बजेट बिनियोजन गरेका योजनाहरुको कार्यान्वयनको अवस्था, जनसहभागीता, प्रभावकारीताको बारेमा स्थलगत अनुगमन सुरु गरेको छ । उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र ६ नम्बर वडाका अध्यक्ष राजाराम सुवेदी सहितको टोलीले सोमबार मराङमा सञ्चालीत पदमार्ग, कल्भर्ट, खानेपानी, सडक योजनाको अनुगमन गरेको छ । ५ नम्बर वडा मल्कवाङका योजनाहरुको समेत अनुगमन गरिने प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

भौगोलिक रुपमा बिकट र नियमनकारी निकायको कमजोर उपस्थिती रहेका कारण विगतमा केही बस्तीहरुमा कर्मचारी, प्राबिधिक र उपभोक्ता समिति मिलेर आर्थिक बर्षको अन्त्यमा कागजमा काम गरेको देखाएर बजेट दुरुपयोग हुने गरेको जनगुनासो रहेको छ ।

यसपालि पनि केही वडामा सम्झौता भएका योजनाहरु अझै कार्यान्वयन हुन नसकेको सूचना पाएपछि जनप्रतिनिधि र कर्मचारीको टोली अनुगमनमा निस्कीएको हो । काम हुन नसके राज्यकोषमा बजेट फिर्ता गर्ने तर कागज मिलाएर एक रुपैया पनि दुरुपयोग गर्न नदिने धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउदै आउनुभएको छ ।

आकस्मीक रुपमा सबै वडामा छड्के अनुगमन गर्ने तयारी भएको छ । ११० वटा पूर्वाधार योजना र ११ वटा लक्षित वर्गका कार्यक्रमका लागि धौलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा ११ करोड ३८ लाख ८४ हजार ८७५ रुपैया बिनियोजन गरेको छ ।