धौलागिरीका अध्यक्ष र उपाध्यक्षद्धारा बालबालिकाको अभिभावकत्व ग्रहण

विकल्प न्यूज/बेनी
म्याग्दी १२ बैशाख । School Bharna (1)धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले दुई जना बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

अध्यक्ष पुनले धौलागिरी गाउँपालिका ४ खिवाङकी बिन्दीका बुढालाई स्थानीय चन्द्रज्योती माविको कक्षा ६ मा भर्ना गराउनुभएको हो । अभिभावकको कमजोर आर्थिक अवस्था भएकी बुढालाई अध्यक्ष पुनले वार्षिक पढाई खर्च समेत ब्यहोर्ने बताउनुभएको छ ।

उपाध्यक्ष छन्त्यालले धौलागिरी गाउँपालिका २ खोरीयाका १३ वर्षिया प्रविन पुर्जालाई हेम मावि शिवाङको कक्षा ९ मा भर्ना गरी उनलाई आफ्नै घरमा राखेर १२ कक्षा सम्म पढाउने बताउनुभयो । बुवाको निधन र आमाले दोस्रो बिवाह गरेपछि पुर्जालाई पढाई अघि बढाउन समस्या भएको थियो ।

संघीय सरकारले गरिब, विपन्न, अनाथ बालबालिकालाई विद्यालय भर्ना गर्न देशभरका स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिहरुलाई आव्हान गरेको छ । संघीय सरकारको घोषणा अनुसार तिनै तहका जनप्रतिनिधिले भर्ना अभियानलाई सघाएका छन् ।