विदेशको सीपबाट गाउँमै उद्योग सञ्चालन

विकल्प न्यूज/बेनी
चैत १४ गते । Pun Bekariम्याग्दीको धौलागिरी गाउँपालिका ३ मुनाका एक युवाले विदेशमा सिकेको सीपलाई सदुपयोग गरेर गाउँमै उद्योग सञ्चालन गरेका छन् । १६ वर्ष खाडी मुलुकमा काम गरेका मुनाका ४० वर्षिय तमबहादुर पुनले गाउँमै बेकरी उद्योग स्थापना गरेर स्वरोजगार बनेका हुन् । पुनले रोजगारीको लागि मलेसीया, साउदी, कतार, दुवई, ओमान, बहराईन, टर्की, ईराक र ईजिप्टमा श्रम पसिना बगाउनुभएको थियो ।

मलेसीयामा बेकरी उद्योगमा काम गर्दा सिकेको सीपलाई सदुपयोग गरेर गत माघ महिनादेखि गाउँमै उद्योग सञ्चालन गरेको पुनले बताउनभयो । पछिल्लो पटक मलेसीयाको बेकरी उद्योगमा तिन वर्ष काम गर्दा उहाँले सो सम्बन्धि सिप र प्राबिधिक ज्ञान हाँसील गर्नुभएको थियो ।
स्थानीय स्तरमै स्वरोजगार बन्नका लागि विदेशको सीपलाई सदुपयोग गरेर उद्योग सञ्चालन गरेको पुनले बताउनुभयो । सो उद्योगबाट वन, पेष्ट्री, बे्रड, वर्थडेकेक, दुनोट, पाउरोटी लगायत विभिन्न बेकरी परिकार उत्पादन हुने गरेको छ ।

उद्योगमा पुन र उहाँकी श्रीमती खिनदेवीले काम गर्नुहुन्छ । भवन, उपकरण खरिद र व्यवस्थापनका लागि हालसम्म २२ लाख पचास हजार रुपैयाँ लगानी भएको सञ्चालक पुनले बताउनुभयो । मुना, दर, फलीयागाँउ, मच्छिम, शिवाङ, गुर्जा, खोरीयामा बेकरी बिक्री हुने गरेको छ ।
मासिक साढे दुई लाख बराबरको कारोबार हुने गरेको छ । बेकरी बनाउन विद्युतबाट सञ्चालन हुने आधुनिक उपकरण प्रयोग गर्नुभएको छ । बिदेशको कमाई र स्थानीय सहकारी संस्थाले सञ्चालन गरेको घुम्तीकोषबाट ऋण लिएर उद्योग सञ्चालन गरेको पुनले बताउनुभयो ।
गुड नेवर्स ईन्टरनेशनलले मुनाल कृषि सहकारी संस्थालाई उपलब्ध गराएको घुम्ती कोषबाट ६३ हजार रुपैया ऋण लिएको पुनले बताउनुभयो । संगम म्याग्दीलेले उहाँलाई बेकरी उत्पादन, बजारीकरण सम्बन्धि तालीम दिएको थियो । बाँकी सबै पुनको स्वलगानीमा उद्योग सञ्चालन भएको हो ।