सन्तोष गौतम/विकल्प न्यूज
मुना १३ चैत । स्थानीय तहको कार्यसम्पादनमा सहजता ल्याउने उद्देश्यले धौलागिरी गाउँपालीकाको केन्द्र मुनामा सोमबार देखि जनप्रतिनिधि र कर्मचारीहरुका लागि तालीम सुरु भएको छ ।
धौलागिरी गाउँपालीकाको आयोजनामा तिन दिनसम्म सञ्चालन हुने तालीममा सबै जनप्रतिनिधि, वडाका सचिव र विषयगत शाखाका कर्मचारीहरुको सहभागीता रहेको छ । तालीमको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जनताले राहत, परिवर्तनको महशुस हुने गरी काम गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
उहाँले आग्रह, पूर्वाग्रहबाट टाढा रहेर जिम्मेवार र ईमान्दारीताका साथ काम गरेर संघीयताको सफल परिणाम देखाउनेगरी काम गर्न आग्रह गर्नुभयो । गाउँपालीकाका अध्यक्ष थमसरा पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको स्वागत र कृषि शाखा प्रमुख योगेन्द्र राईको सञ्चालनमा सम्पन्न कार्यक्रममा गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक गजेन्द्र वाग्ले, नेपाल सरकारका पुर्व सहसचिव गोकर्ण शर्मा र जिससका सूचना अधिकृत पदम भण्डारीले स्थानीय सरकार सञ्चालन र सूचनाको हक सम्बन्धि ऐन, नियम र कानुनहरुको विषयमा सहजिकरण गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।
नयाँ व्यवस्था र संरचना अनुसारको कानुन, ऐन, नियम र कार्यबिधिको बारेमा बुझाईमा एकरुपता कायम गरी विकास गतिबिधी र सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले जनप्रतीनिधिहरुको क्षमत्ता विकासका लागि तालीम सञ्चालन गरिएको गाउँपालीकाका अध्यक्ष पुनले बताउनुभयो ।
जनप्रतिनिधि र कर्मचारीबीच कानुनको विषयमा बुझाईमा एकरुपता नहुँदा काम गर्न कठिनाईका साथै कतिपय ठाउँमा अधिकार क्षेत्रको विषयमा द्धन्द समेत सिर्जना भएको छ । अनुभव र कानुनी विषयमा पर्याप्त जानकारी नहुँदा काम गर्न अप्ठ्यारो र अलमल भएको अवस्थामा तालीम प्रभावकारी बन्ने अपेक्षा गरीएको मराङका वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।
यसअघि बेनी नगरपालीका, अन्नपूर्ण र रघुगंगा गाउँपालीकाले पदाधीकारी, कार्यपालीका सदस्य र कर्मचारीका लागि क्षमता विकास तालीम सञ्चालन गरिसकेका छन् ।