सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ चैत । म्याग्दीको धौलागिरी गाउँपालिका २ मा रहेको लमसुङ मावीमा करिब छब्बिस लाख रुपैयाँको लागतमा कक्षा कोठा भवन निर्माण भएको छ । गुड नेवर्स ईन्टरनेशनलको सहयोगमा संगम म्याग्दीद्धारा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजना मार्फत २५ लाख ७६ हजार ५४० रुपैयाँको लागतमा दुई कोठे भवन निर्माण भएको हो ।
गुड नेवर्स ईन्टरनेशनलको १९ लाख ५९ हजार ९१३ रुपैयाँ र स्थानीयबासीको छ लाख १७ हजार ४२७ रुपैया बराबरको श्रम तथा बस्तुगत लगानीमा भवन निर्माण गरिएको भवन निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले जानकारी दिनुभयो ।
२०७४ असोजदेखि निर्माण सुरु भएको भवन सम्पन्न गरी मंगलबार जनप्रतिनिधी, अभिभावक र दातृ संस्थाका प्रतिनिधिको उपस्थितीमा आम्दानी खर्च विवरण सार्वजनिक गरिएको छ । भुकम्प प्रतिरोधी क्षमताको उक्त भवनमा कम्प्युटर र विज्ञान प्रयोगशाला स्थापना गरिएको प्रअ तुलसीनाथ सुवेदीले जानकारी दिनुभयो । संगम म्याग्दीद्धारा सञ्चालीत म्याग्दी सामुदायीक विकास परियोजना अन्तरगत गुड नेवर्स ईन्टरनेशनलले विद्यालयलाई चार थान कम्प्युटर, प्रिन्टर र विज्ञान प्रयोगशालाका सामाग्री उपलब्ध गराएको थियो ।
विज्ञान र कम्प्युटर प्रयोगशाला सञ्चालनका लागि एक हजार ८९० वाट क्षमताको सोलार जडानका लागि दुई लाख २२ हजार ८५० रुपैयाँ अनुदान उपलबध गराएको संगम म्याग्दीका शिक्षा अधिकृत चिरञ्जिवी रेग्मीले बताउनुभयो । सोलार खरिद गर्न विद्यालयले दुई लाख २७ हजार २५० रुपैयाँ लगानी गरेको छ ।
भौगोलिक रुपमा विकट र साठी प्रतिशत दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने लमसुङ माविको शैक्षिक गुणस्तर सुधारका लागि पूर्वाधार निर्माण, प्रयोगशाला, सोलार जडान, बालकक्षा व्यवस्थापन, शैक्षिक सामाग्रीमा सहयोग गरिएको अधिकृत रेग्मीले बताउनुभयो । कक्षा दश सम्म पठनपाठन हुने उक्त विद्यालयमा १९५ जना विद्यार्थी अध्ययनरत छन् ।सन २०१३ देखि लागू भएको परियोजनाले धौलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुदा, मुदी र मराङका सामुदायीक विद्यालयमा अध्ययनरत बालबालीकाको शिक्षा, विद्यालयको शैक्षिक गुणस्तर सुधार, अभिभावकको आयआर्जन लगायतका क्षेत्रमा सघाउदै आएको छ ।
वडा अध्यक्ष गमबहादुर बि.कको अध्यक्षता, शिक्षक मोहनराज पौडेलको सञ्चालन र बलदेवी पुर्जाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा एसईई परिक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाई गरिएको थियो । शिक्षक प्रकाश केसीले छात्रावास र भवन निर्माण समितिका अध्यक्ष ज्ञानबहादुर पाईजाले भवन निर्माण सम्बन्धि आम्दानी खर्च विवरण सार्वजनीक गर्नुभएको थियो ।