विकल्प न्यूज/बेनी
फागुन २४ गते ।जिल्लाको धौलागिरी गाउँपालिका ३ मुनाकी पुष्पा मगरले बंगुरपालनका लागि स्थानीय धुवाङ सामुदायिक संस्थाबाट ७५ हजार रुपैयाँ ऋण लिनुभयो । गत जेठमा मासिक एक प्रतिशत ब्याजदरमा बिना धितो सामुहिक जमानीको आधारमा सामुदायिक संस्थाबाट लिएको ऋण एक वर्षभित्रनै तिरीसक्ने मगरको लक्ष्य छ । “सामुदायिक संस्थाबाट लिएको ऋण र स्वलगानी थपेर पाँच वटा बंगुर पालेको थिएँ” मगरले भन्नुभयो “एक वर्षभित्रनै ऋण तिरेर बंगुरपालन विस्तार गर्ने सोच बनाएकी छु ।”
मुनाकै सिता पुनले पनि सोही सामुदायिक संस्थाबाट तिस हजार रुपैया ऋण लिएर दुई वटा बाख्रा किनेर पाल्नुभएको छ । हाल पाठापाठी सहित उनिसंग पाँच वटा बाख्रा छन् । आयआर्जनका लागि उद्यम व्यवसाय गर्ने योजना भएपनी लगानी नपाएर समस्यामा परेका मगर र पुन जस्तै ग्रामिण क्षेत्रका महिलाहरुका लागि घुम्ती कोष बरदान बनेको छ ।
“दुई चार हजार रुपैया आवश्यक पर्दा समेत आफन्त, साहुकहाँ हात जोड्न जानुपर्ने अवस्थाको अन्त्य भएको छ” पुनले भन्नुभयो “धितो राख्ने जग्गा जमिन आफ्नो नाममा नभएकाले बैङ्क, वित्तिय संस्थाको पहुँचदेखि टाढा रहेका हामी जस्ता महिलालाई ठूलो राहत मिलेको छ ।”
गरिवी निवारण कोषको सहयोगमा सामुदायिक संस्थाहरुले स्थापना गरेको घुम्ती कोष मार्फत ग्रामिण क्षेत्रका गरिब, विपन्न महिलाहरुले ऋण लिएर तरकारी खेती, कुखुरा, बाख्रा, भैसी, बंगुरपालन र ब्यापार व्यवसाय गरेका छन् ।
साझेदार गैरसरकारी संस्था संगम र धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) बागलुङद्धारा साबिकका २१ वटा गाविसमा गठन भएका २०७ वटा सामुदायिक संस्था मार्फत गरिवी निवारण कोषको कार्यक्रम सञ्चालन हँुदै आएको छ ।
आर्थिक वर्ष २०७३र७४ सम्ममा १११ वटा संस्थाले एक हजार ३२४ घरधुरीलाई चार करोड पाँच लाख रुपैयाँको घुम्ती कोष परिचालन गरेका छन् । २६ सामुदायिक संस्था मार्फत ६० लाख रुपैयाँ लगानीको प्रक्रियामा रहेको छ ।
संगम म्याग्दी मार्फत रघुगंगा गाउँपालिकाको पिप्ले, पाखापानी, चिमखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, दाना, हिस्तान, घार, मंगलाको बरंजा, मालीकाको दरवाङ र निस्कोटमा गठन भएका ९५ वटा सामुदायिक संस्थामा दुई हजार ५९९ घरधुरी आवद्ध भएकामा ६८ वटा सामुदायिक संस्थामा आवद्ध ८२२ सदस्यलाई दुई करोड १७ लाख ५८ हजार ३९५ रुपैयाँ घुम्तीकोषको रुपमा लगानी भएको छ ।
धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र मार्फत मालीका गाउँपालिकाको देविस्थान, रुम, ओखरबोट, धौलागिरी गाउँपालिकाको ताकम, मुना, लुलाङ, मुदी, मराङ, मल्कवाङ र रघुगंगाको कुईनेमंगलेमा गठन भएका ९५ वटा सामुदायिक संस्थामा दुई हजार ५७३ घरधुरी आवद्ध छन् । जस मध्य ४३ वटा सामुदायिक संस्थामा आवद्ध ५०२ घरधुरीको आयआर्जनको लागि एक करोड ८७ लाख ४६ हजार ७९९ रुपैयाँ घुम्ती कोष परिचालन भएको कार्यक्रम संयोजक पवन श्रीवास्तवले बताउनुभयो ।